तपाईँ सुन्दै हुनुहुन्छः

नवनिर्वाचित जनप्रतिनिधिको नयाँ जोस 

सल्यान । सङ्घीयता कार्यान्वयनसँगै दोस्रो पटक भएको स्थानीय निर्वाचनले नयाँ जनप्रतिनिधि छानेको छ । 

पहिलो कार्यकालका जनप्रतिनिधिको प्राथमिकतामा सडक, भौतिक संरचना निर्माण जस्ता एजेन्डा पारे । हरेक बस्ती बस्तीमा सडक सञ्जाल जोडिए भलै ती सडक बाह्रै महिना सञ्चालन हुँदैनन् । नवनिर्वाचित जनप्रतिनिधिहरूले भने सूचना, सञ्चार, स्वास्थ्य क्षेत्रका विषयमा ध्यान दिन थालेका छन् । पहिलो निर्वाचनको भन्दा यस पटकको निर्वाचनमा धेरै पालिकामा युवाको उपस्थिति रहेको छ । 

जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको शारदा नगरपालिकाले वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । चुनावमा पहिलो एजेन्डाको रुपमा राखेका नवनिर्वाचित नगर प्रमुख प्रकाश भण्डारीले बैङ्कहरूसँग समन्वय गरी १५ वटै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हुन । 

अति अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको उहाँको भनाई छ । भत्ताकै लागि दुई तीन घण्टा हिँडेर बैङ्कसम्म धाउनु पर्ने बाध्यतालाई मध्यनजर गरी वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको भण्डारीको भनाई छ । 

यस्तै बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिकाले प्रत्येक वडामा निःशुल्क एम्बुलेन्स सेवा र बिरामी अस्पतालसम्म पुग्न निःशुल्क यातायातको सेवा प्रदान गर्ने बताएका छन् । एक वर्ष भित्र सिद्ध कुमाखका सबै वडामा एम्बुलेन्स आउने सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरीले बताउनु भयो । उहाँले भन्नुभयो निर्वाचनको समयमा जनतासँग गरेको बाचालाई पुरा गर्न अबको एक वर्ष भित्र सबै वडामा एम्बुलेन्स उपलब्ध हुन्छ । यातायात र स्वास्थ्यको अभावमा कुनै पनि सर्वसाधारण समस्यामा नपरोस् भन्ने आफूहरूको सोच रहेको गिरीको भनाई छ । 

यस्तै दोस्रो पटक निर्वाचित भएका कालीमाटी गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले पहिलो कार्यकालमा अधुरा रहेका योजनासँगै नयाँ योजनाका साथ अघि बढ्ने बताउनु भयो । कालीमाटी गाउँपालिकाले पालिकालाई खरको छाना बनाउने निर्णय गरेको छ । पालिका भित्र रहेका जति पनि खरका छाना भएका घरहरू छन् ती सबै विस्थापित गर्ने आफ्नो लक्ष्य रहेको खत्रीको भनाई छ । 

वार्षिक करोडौँको तरकारी निर्यात गर्दै आइरहेको कपुरकोट गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ भने बनगाड कुपिण्डे नगरपालिकाले शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button