तपाईँ सुन्दै हुनुहुन्छः

संसदमा आर्थिक वर्ष ०७९/०८० को बजेटमाथिको  छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको  छ ।

प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक संकट एकतिर  र सरकारले ल्याएको बजेट अर्कोतिर भएकाले बजेटले आर्थिक समस्या समाधान नगर्ने  टिप्पणी गर्नुभयो । 

पुर्वअर्थमन्त्री समेत रहनुभएका सांसद पाण्डेले  गठबन्धन सरकारले प्रस्तुत गरेको बजेटले अगाडि र पछाडि निर्वाचनबाहेक अरू देख्न नसकेको आरोप लगाउनुभयो । 

कृषिमा आधा बजेट छुट्याएर दोब्बर प्रगति गर्ने सपना बाँडेको भन्नुहुँदै सांसद पाण्डेले बजेट काल्पनिक मात्रै भएको बताउनुभयो । 

छलफलमा नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले विषम परिस्थितिमा सबै क्षेत्रलाई समेटेर बजेट प्रस्तुत गर्नुभएकामा अर्थमन्त्रीलाई धन्यवाद दिनुभयो । 

उत्पादनको संरचनामा जनसहभागितालाई जोड दिँदै कृषि क्षेत्र सुधार गर्नेजस्ता कार्यक्रमले किसानहरूलाई राहत मिलेको बताउनुभयो । 

सांसद बस्नेतले बजेटमा सार्वजनिक निजी साझेदारीको मोडललाई थप स्पष्ट गर्नुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी सांसद प्रदीप यादवले बजेटमा मधेस प्रदेश ठगिएको बताउनुहुँदै हुलाकी राजमार्गका लागि छुट्याइएको बजेटमा पुनर्विचार गर्न सुझाव दिनुभयो । 

छलफलमा सांसद विमलप्रसाद श्रीबास्तवले सरकारको अर्बौँ लगानी भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोकिनु दलहरूको भागबण्डामा न्यायाधीश नियुक्ति गरिनुको  परिणाम भएको स्पष्ट पार्नुभयो  । 

बजेटमाथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिंदेनले बजेट आर्थिक सङ्कटलाई रोक्नेतर्फ उन्मुख नभई आगामी निर्वाचन केन्द्रित भएको बताउनुभयो । 

त्यसैगरी सांसद पद्मनारायण चौधरीले बजेटमा कृषिलाई प्राथमिकता दिनु सकारात्मक भएको  बताउनुभयो ।

निरुदेवी जैरुले शिक्षा र स्वास्थ्यमा भएको सिन्डिकेट हटाउन सरकारले पहल गर्नुपर्नेमा जेड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button