तपाईँ सुन्दै हुनुहुन्छः

बजेट–छलफल : समतामूलक समाज निर्माणमा जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि विभिन्न सांसद्हरुले सैद्धान्तिक छलफलमा भाग लिने क्रम जारी रहेको छ । 

नेकपा (माओवादी केन्द्र) का राम कार्कीले व्यक्तिको धारणामा परिवर्तन आएपछि मानिसलाई समतामूलक तुल्याउन सकिने बताउँदै नेपालमा विदेशी विकासको ढाँचा नभई नेपालको आफ्नै परिवेश अनुसार कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।

सांसद कार्कीले देशको विकासको लागि शिक्षा क्षेत्रमा लगानी बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले भारत र भारतको केरला राज्यको उदाहरण दिँदै सकेसम्म शिक्षामा बजेट बढाउनु पर्ने बताउनुभयो । साथै कार्कीले नेता र कर्मचारीहरूका लागि मात्र नभई शिक्षकहरूको लागि राज्यले अनिवार्य तालिमको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो ।

बैठकमा नेकपा एमालेका योगेशकुमार भट्टराईले बजेटको गन्तव्य स्पष्ट नभई चौबाटोमा उभिएकोले यसले मुलुकको हित नगर्ने धारणा राख्नुभयो । उहाँले नेपाली समाजमा रहेको उत्पादित वस्तु र साधनको समतामूलक वितरण गरेर न्यायमूलक समाज निर्माण गरिनुपर्नेमा बजेट अलमलिएको टिप्पणी गर्नुभयो । एमालेकै शेरबहादुर तामाङले लक्ष्य नभएको बजेट आएको तथा बजेट आयातमुखी भएको बताउनुभयो ।

नेपाली काँग्रेसका भरतकुमार साहले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कम देखिएकाले सो क्षेत्रको दायित्व निर्वाह गर्न कठिन हुने बताउनुभयो ।  सोही पार्टीका विनोदकुमार चौधरीले प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाएर रोजगारी सिर्जनामा कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) का पार्टीका अमनलाल मोदीले बजेटमा खर्च कटौतीका विषय समावेश भएको जनाउँदै उचित तलब नपाएमा मजदुरका बारेमा सम्बोधन हुनुपर्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीले मिश्रित अर्थतन्त्रको स्थितिमा गठबन्धन सरकारले ल्याएको बजेट समग्र नेपाली समाजको संरचना र चिन्तनका आधारमा केन्द्रित रहेको बताउनुभयो ।

उहाँले सबै प्रकारका गुठीको जमिनमा अहिले पनि शोषकहरूकै प्रभाव रहेकाले त्यसलाई मोहियानी हकसहित किसान र गरिबलाई वितरण गराउन आग्रह गर्नुभयो । राष्ट्रिय जनता पार्टी, नेपालकी रेनुका गुरुङले प्रस्तुत बजेटले आम जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने, कर्मचारी, ज्येष्ठ नागरिक र किसानको हित गर्ने बताउनुभयो । उहाँले करको दरमा वृद्धिले नागरिकलाई समस्या पर्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । तराई –मधेस लोकतान्त्रिक पार्टीका अनिलकुमार झाले सिङ्गो नेपाली जनताको प्रतिनिधित्व हुने सांसदहरूको भावना र चाहनालाई बजेटमा समावेश नगरिएको र वितरणमुखी भएको बताउनुभयो ।

उहाँले चुरे क्षेत्रको विनाश, बाढी पहिरो तथा नदी नियन्त्रणका लागि बजेट उदासीन रहेको जनाउनुभयो । सांसदहरू पुष्पाकुमारी कर्णाकार, कृष्णप्रसाद दाहाल, पार्वतीकुमारी विङ्सखेलगायतले छलफलमा भाग लिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button