तपाईँ सुन्दै हुनुहुन्छः

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौँ ल्याइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा १० जनाको शव आज साँझ काठमाडौँमा ल्याइएको हो ।

प्रतिकूल मौसमका कारण एक जनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपानेसहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिएको थियो ।

मन्त्री आलेले हवाई दुर्घटनामा परी मानवीय क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनाबाट भएको ठूलो मानवीय क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले दुर्घटनामा परी ज्यान गुमाएका चालक दलका सदस्य एवं यात्रुमा श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

मन्त्री आलेको निर्देशनमा मन्त्रालयले विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button