तपाईँ सुन्दै हुनुहुन्छः

पकेट विकास कार्यक्रम प्रभावकारी बनाउने प्रतिबद्धता

जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट विकास कार्यक्रम धनुषामा प्रभावकारी किसिमले सञ्चालन गर्ने प्रतिबद्धता सरोकारवालाहरूले व्यक्त गर्नुभएको छ ।

परियोजनाको कार्यान्वयन इकाई धनुषाले जिल्लाका १८ पालिकाका कृषि शाखा प्रमुखहरूको सहभागितामा आज गरेको पकेट कार्यक्रम माथिको समीक्षा कार्यक्रममा सहभागीहरूले नयाँ जोश तथा ऊर्जाका साथ जनप्रतिनिधिहरू निर्वाचित हुनु भएकाले अब सफलतापूर्वक समयमा नै कार्यक्रम सञ्चालन गर्ने जनाउनुभयो ।

विगत १० महिनाको अवधिमा पकेट विकास कार्यक्रम अन्तर्गत निरन्तरता कार्यक्रममा ८० प्रतिशत प्रगति हुनुको साथै नयाँ कार्यक्रममा ५० प्रतिशतले प्रगति भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाका कार्यालय प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनुभयो ।

कृषिमा आधुनिकीकरण, विशिष्टीकरण तथा औद्योगिकीकरण गर्दै मुलुकमा कृषि मार्फत समृद्धि हासिल गर्ने उद्देश्यका साथ तीनै तहका सरकारको सहभागिता तथा स्वदेशी पुँजी, प्रविधि एवं प्राविधिकले सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरणको पकेट तथा ब्लक विकासको कार्यक्रममा विगतको समयमा त्यति प्रगति नभए पनि यस पटक पकेट विकास कार्यक्रममा प्रगति भएको परियोजनाका योजना तथा कृषि अधिकृत कालीकान्त मिश्रले जानकारी दिनुभयो ।

धनुषा जिल्लामा पकेट विकास कार्यक्रम अन्तर्गत धान खेती, माछा खेती, तेलहन, दलहन, पशुपालनका साथै नयाँ कार्यक्रममा आँप खेती तथा तरकारी खेती कार्यक्रम सञ्चालनमा रहेको छ ।

पकेट विकासको कार्यक्रमलाई थप प्रभावकारी बनाउन चाँडै नै नवनिर्वाचित नगरप्रमुख, गाउँपालिकाका अध्यक्षहरूलाई राखेर छलफल गर्ने भएको परियोजनाको कार्यालयले जानकारी दिएको छ ।

धनुषामा ५९ वटा पकेट विकासका कार्यक्रम सञ्चालनमा छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, वटेश्वर तथा औरहीले हालसम्म सूचना समेत प्रकाशित गर्न नसकेकोमा अब नयाँ नेतृत्व आएकाले ध्यानाकर्षण गर्नका लागि अभिमुखीकरण कार्यक्रम गर्ने परियोजना कार्यान्वयन इकाईका प्रमुख तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button