तपाईँ सुन्दै हुनुहुन्छः

सम्पर्कविहीन तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको आशङ्का

पोखरा । पोखराबाट जोमसोमका लागि उडान भरी सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको आशङ्काका साथ सुरक्षाकर्मीको टोली उक्त स्थानमा जादैछ । 

स्थानीयले दिएको सूचनाका आधारमा तारा एयरको सम्पर्कविहीन ९ एन–‘एईटी’ ट्विनअटर विमान खोज्नका लागि सुरक्षा फौजको टोली मानापाथी हिमालतर्फ जाँदै गरेको हो ।

खराब मौसमका कारण विमानको खोजी कार्यमा निकै कठिनाइ भएको छ । जोमसोमबाट गएको फिस्टेल एयरको हेलिकोप्टर जोमसोमबाट सम्भावित क्षेत्र पुग्ने प्रयास गरेता पनि खराब मौसमका कारण हेलिकोप्टर जान सकेको थिएन । 

विमान रहेको आशङ्का गरिएको मानापाथी हिमालको फेदीमा हेलिकोप्टर पुग्न नसकेपछि पोखराबाट गएको नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा अवतरण गरिएको छ । त्यहाँबाट नेपाली सेना लगायतको टोली उक्त स्थान तर्फ पैदल जाँदै गरेको बताइएको छ । कोबाङबाट मानापाथी हिमालको फेदीमा पुग्न तीन घण्टा लाग्छ ।

विमानको खोजीमा ४ वटा पैदल टिमलाई  मानापाथी हिमालको फेदी तर्फ पठाइएको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिनुभयो । मानापाथी हिमालको फेदीमा रहेको आशङ्का गरिएता पनि सुरक्षा फौज त्यहाँ नपुगे सम्म विमान भेटिएको पुष्टि भने आधिकारिक रुपमा हुनेछैन । यसअघि विमान थासाङ गाउँपालिकास्थित लेतेमा हुनसक्ने आशङ्का गरिएको थियो । तर, लेतेमा विमान भेटिएन । 

आज बिहान ९ः५५ बजे पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटमा सम्पर्क विहीन भएको थियो । सम्पर्कविहीन जहाजमा चालक दलका ३ सदस्य, १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी २२ जना सवार थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button