तपाईँ सुन्दै हुनुहुन्छः

१५ औँ गणतन्त्र दिवसको अवसरमा वीरगंज कारागारका ३७ जना कैदिबन्दीको सजाय मिनाहा

वीरगंज । १५ औँ गणतन्त्र दिवसको अवसरमा आज बीरगंज कारागारमा रहेका ३ महिला सहित ३७ जना कैदिबन्दीहरुको सजाय मिनाहा भएको छ भने एक जनाले आम माफी पाएका छन् । 

नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार संविधान दिवसको अवसर पारी आज राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ८ सय १८ जना कैदीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेकोमा बीरगंज कारागारका ३७ जना कैदीको सजाय मिनाहा भएको वीरगंज कारागारका प्रमुख कृष्ण गैरेले बताउनुभयो । 

वीरगन्ज कारागारबाट बाँकी सजाय मिनाहा भएर आज रिहा भएका कैदीबन्दीहरुमा ५० प्रतिशत कैद भुक्तान गरेकाहरू मध्येबाट सजाय मिनाहा हुनेहरूमा कर्तव्य ज्यान मुद्दाका २ महिला सहित १० जना, सवारी ज्यान मुद्दाका ३ जना, चोरी १ जना, कुटपिट अङ्गभङ्ग १, नागरिकता सरकारी किर्ते २, डाँका २ जना, बहुविवाह २ जना, काठ चोरी १ जना, रहजानी चोरी १ जना रहेका छन् । 

त्यसैगरी ४० प्रतिशत कैद भुक्तान गरेकाहरू मध्येबाट १ महिला सहित कर्तव्य ज्यान मुद्दाका ११ जना, ज्यान मार्ने उद्योगका १ जना गरी १२ जनाको सजाय मिनाहा भएको छ । यसैगरी कर्तव्य ज्यान मुद्दामा बीरगंज कारागारमा कैद भुक्तान गरी रहेका विनोद यादवलाई सरकारले आममाफी दिएको  वीरगंज कारागारका प्रमुख गैरेले बताउनुभयो । 

सजाय मिनाहा हुनेहरूलाई कारागार परिसरमा आज एक कार्यक्रमको आयोजना गरी पारिवारिक पुनर्मिलन र सामाजिकीकरणको प्रक्रियामा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको कारागार प्रमुख गैरेले बताउनुभयो । 

कारागार भित्र आचरण सुधार गरेका कैदीबन्दीहरुलाई कारागार तथा स्थानीय प्रशासनको सिफारिसमा गृह मन्त्रालय हुँदै राष्ट्रपतिबाट कैद मिनाहा भएको वीरगंज कारागारका नाइके फिरोज अन्सारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button