तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवसमा कागेश्वरी मनोहरामा वक्तृत्वकला प्रतियोगिता

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले १५औँ गणतन्त्र दिवसको अवसरमा विद्यालय स्तरीय वक्तृत्वकला  प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा नगरपालिकाभित्रका नौ सामुदायिक विद्यालयका विद्यार्थी सहभागी थिए । 

प्रतियोगितामा आनन्द भैरव माध्यमिक विद्यालयकी छात्रा सतिस्मा खड्का पहिलो हुनुभयो । आनन्द भैरवकै विष्णु नेपाली दोस्रो तथा गान्धी आदर्श विद्यालयका अर्जुन कोइराला तृतीय हुनुभयो । 

नेपाल राष्ट्र निर्माण उच्च माविकी प्रशंसा पौडेलले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । उहाँहरूलाई क्रमशः रु आठ हजार पाँच सय, रु चार हजार सात सय ५० र रु तीन हजार दुई सय ५० पुरस्कार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । 

विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका नवनिर्वाचित प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलगायतले पुरस्कृत गर्नुभएको थियो । 

सो अवसरमा कागेश्वरी मनोहरा घर भई विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित प्रमुख कार्कीले अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गरिने  बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नगरवासीलाई सुशासनको प्रत्याभूति दिलाइने बताउनुभयो । 

कार्यक्रममा कागेश्वरी मनोहरा–६ का वडाध्यक्ष प्रकाश फुयाँलले समृद्ध नगर निर्माणमा हातेमालो गर्न सबैलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर दुईका सभापति कविर शर्मा फुयाँल, सम्मानित पत्रकार कृष्णमुरारी भण्डारी, पत्रकार द्वय अजय फुयाँल, राधेश्याम दाहाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button