तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो ।

भूमिसम्बन्धी विषय संवेदनशील हो वार्ता र कूटनीतिक माध्यमबाट समाधान हुनुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उल्लेख गर्दै उहाँले यसअनुरूप नेपालको भूमि फिर्ता ल्याउने कूटनीतिक प्रयास जारी रहेको बताउनुभयो । सीमा सम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा उचित स्थान दिइएको उहाँको भनाइ छ ।

नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको र सहयोगको क्षेत्र विविध र व्यापक रहेको जनाउँदै उहाँले ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा द्विपक्षीय सम्बन्ध महत्त्वपूर्ण आयामका रूपमा रहेको बताउनुभयो । उहाँले नेपालको भू–बनोटका कारण नेपालमा उत्पादित बिजुली सहज बजार भारत हुने भएकाले यसै पृष्ठभूमिमा नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता भएको बताउनुभयो ।

भारतसँगै दक्षिण एसियाका अन्य मुलुकमा पनि ऊर्जा व्यापारको पहल भइरहेको जनाउँदै प्रधानमन्त्री देउवाले नेपालमा बढी भएको बिजुली भारतमा बिक्री गर्ने र भारतबाट पनि आयात गर्न सक्ने गरी सम्झौता गरिएको बताउनभयो ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन तीन वर्षअघि नै तयार भएको सबैलाई थाहा भएको उल्लेख गर्दै उहाँले त्यो प्रतिवेदन त्यतिबेला नै बुझ्नुपर्थ्यो किन बुझिएन भनी प्रश्न गर्नुभयो । उक्त प्रतिवेदन बुझ्ने वातावरण निर्माण गर्न सरकार निरन्तर क्रियाशील रहेको जनाउँदै उहाँले कूटनीतिक सम्बन्धका विषयमा टिप्पणी गर्न पर्याप्त सावधानी अपनाउनुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।

नेपाल एक चीन नीतिप्रति दृढ रहेको दोहोराउँदै प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत रहेको बताउनुभयो । विगतमा चीनविरुद्ध सक्रिय संस्थालाई आफू प्रधानमन्त्री भएकै बेला रोक लगाएको सचेत गराएको उहाँले सदनलाई स्मरण गराउनुभयो ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)लगायत अन्य विकास सहायता प्राप्त गर्ने विषयमा राष्ट्रिय आवश्यकता, क्षमता र उपादेयताका आधारमा निर्धारण हुने भएकाले सरकारले बुद्धिमत्तापूर्वक यस्ता विषयमा निर्णय गर्ने उल्लेख गर्नुहुँदै उहाँले यसनिम्ति सबै पार्टीसँग छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक–सामाजिक विकासमा मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगका लागि सरकार आभार प्रकट गर्दछ ।”

प्रधानमन्त्री देउवाले सरकारको क्रियाशीलताका कारण आर्थिक तथा सामाजिक क्रियाकलापमा बढोत्तरी आएको बताउनुभयो । आफूले विश्वासको मत लिँदा नै सबै नेपालीलाई खोप उपलब्ध गराउने सन्दर्भमा गरिएको प्रतिबद्धता पूरा भएको र खोप अभियानका कारण आर्थिक क्षेत्र चलायमान हुने वातावरण बनेको उहाँले बताउनुभयो । सरकार आफ्नो लक्ष्यमा क्रियाशील रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री देउवाले सरकारले नेपाल आयल निगमजस्ता संस्था खारेज नगर्ने र त्यस्तो सोच नभएको स्पष्ट पार्नुभयो । सरकारले पाठ्यपुस्तकलगायत सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाएको र कालोबजारीजस्ता गैर कानुनी गतिविधि नियन्त्रण गर्न क्रियाशील रहेको उहाँले उल्लेख गर्नुभयो ।

कृषि उत्पादन वृद्धि गर्न मल खादलगायत कृषिजन्य सामग्रीको सहज आपूर्तिको व्यवस्था गरिएको जनाउँदै उहाँले हिमाली तथा भौगोलिक रूपमा विकट जिल्लामा खाद्य आपूर्तिका लागि जिल्लाको वर्गीकरणको व्यवस्था गरिने नीति लिइएको बताउनुभयो । “सरकारले उत्पादकत्व वृद्धि गर्ने, तुलनात्मक लाभ भएका क्षेत्रलाई विशेष प्राथमिकता दिएको, अर्थतन्त्रको दिगो विकासका लागि सार्वजनिक–निजी क्षेत्रको क्रियाशीलता बढाउन खोजिएको छ”, उहाँले भन्नुभयो ।

निजगढ विमानस्थलका सन्दर्भमा सर्वोच्च अदालतको फैसलाको अध्ययन गरी आवश्यक निर्णय लिइने प्रधानमन्त्रीको भनाइ छ । सबै प्रकारका हिंसा र भेदभावको अन्त्य गरी भयमुक्त समाजको स्थापनाका लागि सरकार लागिपरेको उहाँको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा आधिकारिक निकायबाट लिइएको तथ्याङ्क नै प्रस्तुत गरिएकाले अविश्वास नगर्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो । भ्रष्टाचार सबैको साझा शत्रु हो भन्दै उहाँले त्यसका विरुद्ध एकजुट भएर उभिन अपिल गर्नुभयो ।

प्रधानमन्त्रीले सीमित साधन स्रोतबीच निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न गरेको स्पष्ट पार्नुभयो । छिटपुट घटनलाई लिएर पूरै निर्वाचन प्रक्रियामा संशय गर्नु आवश्यक नभएको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले कोभिडको महामारीपछि सामान्य हुँदै देशको अर्थतन्त्र सामान्य अवस्थामा अघि बढ्दै गरेको अवस्थामा युक्रेनमा भएको आक्रमणले जटिलता निम्त्याएको स्पष्ट पार्नुभयो ।

सोही कारण आपूर्तिमा समस्या देखिएको र देशको अर्थतन्त्रमा बाह्य चाप बढेको प्रधानमन्त्रीको भनाइ छ ।  प्रधानमन्त्री देउवाले प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक पुनरुत्थान गर्दै जनजीवनलाई सहज पार्नेतर्फ केन्द्रित भएको स्पष्ट पार्नुभयो ।

उहाँले अमेरिकी सहयोग परियोजनाका सम्बन्धमा संसद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक टिप्पणी त्यसैको अङ्ग बनिसकेको उल्लेख गर्नुभयो । यसमा थप शङ्का गर्नुपर्ने आवश्यकता नरहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।  सरकारले एक हजार २०० मेगावाट क्षमताको बूढी गण्डकीका लागि स्रोत जम्मा भएको र त्यसै आधारमा अगाडि बढाउन लागिएकाले त्यसमा आशङ्का नगर्न उहाँले आग्रह गर्नुभयो ।

सीमा सुरक्षाका लागि सरकार क्रियाशील रहेको र त्यसमा कुनै तलमाथि हुन नदिइने उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रको विकासका लागि सहकार्य गर्न दुवै देश तत्पर रहेको र साझा वक्तव्यमा उल्लेख गरिएको जानकारी दिनुभयो ।

गेटा मेडिकल कलेजका सम्बन्धमा बजेटमा नै व्यवस्था भएर आउने  र विगतदेखि नै त्यसमा बजेट विनियोजन गरिएको तथ्य पेस गर्नुभयो ।  सुकुम्वासी समस्या समाधानका लागि आयोग बनेको र त्यसले काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button