तपाईँ सुन्दै हुनुहुन्छः

पुस्तक नआइपुग्दा सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित

वीरगन्ज । पर्सा जिल्लामा समयमा पाठ्य पुस्तक नआइपुग्दा जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।

जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि वीरगन्ज लगायत पर्सा जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरू भने जेठ ५ गतेबाट सञ्चालनमा आएका छन् । तर विद्यार्थीहरूको हातमा पुस्तक नआइपुगेको हुनाले उनीहरूको पठनपाठन प्रभावित भएको छ ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका पुस्तकहरू पर्साका सामुदायिक विद्यालयहरूमा मात्रै नभई संस्थागत अर्थात् निजी विद्यालयका कक्षा ८, ९, १० तथा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू समेतले अध्ययन गर्ने गरेका छन् ।

एन प्याबसन पर्साका अनुसार जिल्लामा १२० निजी विद्यालयहरू दर्ता रहेका छन् । यसैगरी दर्ता नभएका विद्यालयको सङ्ख्या १ सय को हाराहारीमा छ । निजी विद्यालयहरूमा समेत हजारौँ विद्यार्थीहरूले अनिवार्य अङ्ग्रेजी र नेपाली विषयको पुस्तक जनक शिक्षा सामाग्री केन्द्रले छापेकै पढ्नुपर्ने हुँदा विद्यार्थीहरू चिन्तित भएका छन् ।

यस वर्ष सामुदायिक विद्यालयका कक्षा ४, ७ र ९ का पाठ्यक्रमहरू परिवर्तन भएको छ । जस कारण शिक्षकहरूले विद्यार्थीहरूलाई विषयवस्तु बुझाउन र विद्यार्थीलाई बुझ्न र गृहकार्य गर्न निकै कठिन भइरहेको छ ।

यसैगरी पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुरानो पुस्तक उपलब्ध गराइएको छ । तर पुराना पुस्तकहरू मध्य केही पुस्तकको पन्ना नभएको, केरमेट भएका र च्यातिएकोले पढ्न असजिलो भएको विद्यार्थीको गुनासो रहेको छ ।

पुस्तक व्यवसायी सङ्घ पर्साका अध्यक्ष रोहित ब्याहुतले हाल सम्म जनक शिक्षा सामाग्रीको कुनै कक्षाको पुस्तकहरू आफूहरूका आई नपुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button