तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा पनि ‘एक्जिट पोल’ को अभ्यास

काठमाडौँ । नेपालमा पनि निर्वाचन केन्द्रित मत सर्वेक्षणअन्तर्गत ‘एक्जिट पोल’ को अभ्यास गरेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा विभिन्न सङ्घसंस्था तथा सञ्चार गृह आफैँले एक्जिट पोलको अभ्यास गरेको पाइएको छ । 

काठमाडौँ, भरतपुर, पोखरा महानगरलगायत ठुला सहरमा एक्जिट पोल गरेर निर्वाचनकै साँझ नजिता प्रकाशन गरिएको थियो । विभिन्न देशमा निर्वाचनका क्रममा अभ्यास गर्ने गरिएको एक्जिट पोल नेपालमा पनि स्थानीय तहको निर्वाचनमा गरिएको छ । मिडिया आउटलेटका प्रबन्ध निर्देशक अरुण लम्साल नेपालमा पनि एक्जिट पोल तथा पब्लिक ओपिनियनको अभ्यास हुन थालेको बताउनुहुन्छ । 

“नेपालमा पनि निर्वाचनको एक्जिट पोलको अभ्यास भएको छ”, उहाँले भन्नुभयो, “यो राम्रो पक्ष हो । प्रायजसो एक्जिट पोलअनुसार नतिजा मिलेको पाइएको छ ।” 

मिडिया आउटलेटले पनि इलेक्सन क्याम्पेनिङ, पब्लिक ओपिनियन, अनुसन्धान एवं पार्टीको नीति र नेतालाई ट्र्याकिङ गरेको थियो । उहाँका अनुसार यस पटकको स्थानीय तहको निर्वाचनमा मिडिया आउटलेटले भरतपुर महानगरको एक्जिट पोल गरेको थियो । मिडिया आउटलेटले भरतपुरमा मतदान केन्द्रमा मतदान गरिसकेका मतदातालाई मतदान केन्द्रभन्दा ५०० मिटर टाढा पुनः मतदान गर्न लगाएको थियो । सोही मतदान गरेका आधारमा मिडिया आउटलेटले भरतपुरको मत परिमाण प्रक्षेपण गरेको थियो । 

मिडिया आउटलेटले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको साँझ नै महानगरको एक्जिट पोल सार्वजनिक गरेको थियो । “एक्जिट पोल र निर्वाचन आयोगको मत परिमाण करिब करिब मिलेको छ”, लम्साल भन्नुहुन्छ, “हामीले १० मतदान केन्द्रमा गई ७५७ जनालाई समेटेर एक्जिट पोल गरेका थियौँ ।”

एक्जिट पोलअनुसार भरतपुर महानगरका प्रमुख पदकी उम्मेदवार रेणु दाहालले ४१.०८ प्रतिशत मत ल्याउनुभएको थियो । निर्वाचन आयोगका अनुसार दाहालले ४०.६९ प्रतिशत अर्थात् ५२ हजार २८ मत पाएर निर्वाचित हुनुभयो । एक्जिट पोलमा एमालेतर्फका प्रमुख पदका उम्मेदवार विजय सुवेदीले ३४.६१ प्रतिशत मत पाउने प्रक्षेपण गरिएको थियो । आयोगले सार्वजनिक गरेको मत परिणाममा सुवेदीले ३०.९६ प्रतिशत अर्थात् ३९ हजार ५८२ मत ल्याउनुभएको थियो । 

त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२।५४ प्रतिशत मत पाउने मिडिया आउटलेटको प्रक्षेपण थियो । आयोगको नजिता आउँदा पौडेलले ११।५२ प्रतिशत अर्थात् १४ हजार ७२८ मत पाउनुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button