तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय निर्वाचनको निष्पक्षतामाथि शङ्का गर्नु असान्दर्भिक : कानुनमन्त्री

काठमाडौँ । सरकारले छिटपुट घटनाका बाबजुद स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको जनाएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले एकाध ठाउँमा घटेका घटनालाई लिएर समग्र स्थानीय तहको निर्वाचन स्वच्छ र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएन भनेर संशय व्यक्त गर्नु सान्दर्भिक नहुने बताउनुभयो । 

स्थानीय निर्वाचन निष्पक्ष वातावरणमा सम्पन्न भएको स्वतन्त्र निर्वाचन पर्यवेक्षण गर्ने संस्थाले जनाएबाट पनि सरकारले निर्वाचनमा धाँधली गरेको भन्ने कुरा खण्डित हुने उहाँले बताउनुभयो । नेपालको संविधान जारी भएपछि वर्तमान सरकारको नेतृत्वमा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै उहाँले मुलुकभर ७५३ नगरपालिका र छ हजार ७४३ वडामा एकैसाथ एक दिन निर्वाचन हुनुलाई गौरवका रुपमा लिनुपर्ने बताउनुभयो । 

यस पटकका स्थानीय तहको निर्वाचनका क्रममा प्राप्त भएका अनुभवका आधारमा आगामी निर्वाचनमा अझ बढी स्वच्छ व्यवस्थित, मर्यादित र शान्तिपूर्ण तवरमा सम्पन्न गर्न सरकारले ध्यान दिने उहाँले बताउनुभयो । निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाका कारण उत्पन्न नयाँ परिस्थितिका सम्बन्धमा फैसलाको पूर्णपाठ आइसकेपछि सरकारले त्यसको अध्ययन गरेर आवश्यक कदम चाल्ने मन्त्री कोइरालाले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button