तपाईँ सुन्दै हुनुहुन्छः

कुनै सुविधा नलिने  दमक नगर प्रमुखको घोषणा

झापा । झापाको दमक नगरपालिकामा निर्वाचित नगर प्रमुख रामकुमार थापाले नगरपालिकाबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा वा सुविधा नलिने घोषणा गर्नुभएको छ । निर्वाचन आयोगद्वारा  निर्वाचितहरुलाई  प्रमाणपत्र हस्तान्तरण कार्यक्रमपछि सञ्चारकर्मीसँग बोल्दै उहाँले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवा वा सुविधा नलिने स्पष्ट पार्नुभएको हो  ।

जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै नगर प्रमुख थापाले जनताले तिरेको पैसाबाट आफूले चियासमेत नखाने र कसैलाई नखुवाउने पनि उल्लेख गर्नुभयो । दमकको समृद्धि र विकास गर्न आफ्नो एकमात्र ध्येय रहेको भन्दै उहाँले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 

राप्रपासहितको सत्तारुढ गठबन्धनबाट उहाँ राप्रपाका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा काँग्रेसकी रेगिना भट्टराई प्रसाईँ निर्वाचित हुनुभएको थियो । दमकका १० वडामध्ये गठबन्धनले १,४ र १० जित्यो भने एमालेले अन्य ७ वटा वडामा जितेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button