तपाईँ सुन्दै हुनुहुन्छः

समग्र वित्तीय प्रणालीको आकार ८२ खर्ब बराबर

काठमाडौँ । नेपालको समग्र वित्तीय प्रणालीको आकार झन्डै ८२ खर्ब रुपियाँ बराबरको पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ‘वित्तीय स्थायित्व सम्बन्धी प्रतिवेदन २०७७।२०७८’ अनुसार नेपालको वित्तीय प्रणालीको आकार ८१ खर्ब ७४ अर्ब ८५ करोड रुपियाँ पुगेको हो ।

File Photo

नेपालको वित्तीय प्रणालीभित्र हाल २७ वाणिज्य बैङ्क, १८ विकास बैङ्क, १७ वित्त कम्पनी, ७० लघुवित्त कम्पनी, १ पूर्वाधार बैङ्क र १ जलविद्युतमा लगानी गर्न स्थापित इन्भेस्टमेन्ट कम्पनी गरी १ सय ३४ संस्थालाई नेपाल राष्ट्र बैङ्कले नियमन गर्दै आएको छ ।

त्यसैगरी नेपालमा बिमा समितिले १९ जीवन बिमा, २० निर्जीवन बिमा र २ वटा पुनर्विमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ ।

त्यसैगरी नेपालको वित्तीय प्रणाली भित्र एउटा स्टक एक्सचेन्ज, एउटा सेन्ट्रल डिपोजिटरी कम्पनी, ५० स्टक ब्रोकर, १५ म्युचुएल फन्ड, २ वटा क्रेडिट रेटिङ एजेन्सी, ७६ वटा डीपी, ८७ योग्य संस्थागत खरिदकर्ता (क्युआइबी) र १ वटा स्टक डिलरलाई नेपाल धितोपत्र बोर्डले सञ्चालन अनुमति दिएको छ ।

त्यसैगरी वित्तीय प्रणालीको अभिन्न अङ्गको रुपमा नन बैङ्किङ फाइनान्सियल इन्स्टिच्युट अन्तर्गत कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष, सामाजिक सुरक्षा कोष र हुलाक बचत बैङ्क सञ्चालनमा छन् ।

नेपालको अर्थतन्त्रको फैलावटसँगै वित्तीय प्रणालीभित्रका संस्थाहरू पनि बढ्दै गएका छन् । पछिल्लो ५ वर्षमा १ वटा पूर्वाधार विकास बैङ्क, १ पुनर्विमा कम्पनी, ८७ वटा क्वालिफाइड इन्स्टिच्युसनल इन्भेष्टर, १ स्टक डिलर र एउटा सामाजिक सुरक्षा कोष थपिएसँगै वित्तीय प्रणालीमा ३ सय ३३ वटा संस्थाहरू रहेका छन् । वित्तीय प्रणाली भित्र ३ सय ३३ संस्था भनेर गणना गर्दा आस्वामा आबद्ध र डीपीको रुपमा आबद्ध वित्तीय संस्थाहरू दोहोरिएको राष्ट्र बैङ्कले आफ्नो अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

वित्तीय प्रणालीको कुल सम्पत्तिमा वाणिज्य बैङ्क, लघुवित्त र बिमा कम्पनीको अंश पछिल्लो ५ वर्षमा बढ्दै गएको छ भने विकास बैङ्क, फाइनान्स, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको सम्पत्तिको अंश भने बिस्तारै घट्दै गएको छ । वित्तीय प्रणालीको कुल सम्पत्तिमा कुल गार्हस्थ्य उत्पादन १४२.२५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button