तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीबाट जनमत पार्टीले खाता खोल्यो

सप्तरी । सप्तरीबाट सिके राउतको जनमत पार्टीले खाता खोलेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जनमत पार्टीका तर्फबाट वीरेन्द्र माझीले नगर प्रमुखमा निर्वाचित भएर खाता खोल्नु भएको हो ।

माझीले सुरुदेखि नै लिएको अग्रता अन्त्यसम्म कायम राखेर १ सय ६१ मत अन्तरले जित हासिल गर्नुभयो । माझीले ६ हजार ४०७ मत ल्याउनुभएको छ । 

निवर्तमान नगर प्रमुख शैलेशकुमार साह ६ हजार २४६ मतमा सीमित हुन पुग्दा प्रमुख पद गुमाउन पुग्नुभएको छ । 

त्यसैगरी कुल १४ वडा मध्ये उपप्रमुखसहित ७ वडामा भने जसपाले प्यानलसहित जित हासिल गरेको छ । उपप्रमुखमा सरिता सिपलिया यादवले ६ हजार २ सय ४६ मत ल्याई फेरि पनि निर्वाचित भएको छ । गत निर्वाचनमा समेत राजपाबाट ५ हजार ४१७ मत ल्याएर सिपलिया उपप्रमुख बन्नुभएको थियो ।  

वडा अध्यक्षमा भने जसपा एक्लैले वडा नम्बर २, ३, ९, १०, १२, १३, १४ गरी सात वटा वडामा विजयी भएको छ । नगर प्रमुख निर्वाचित जनमत पार्टीले वडा नम्बर १ र ४ मा मात्र जित हासिल गरेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले वडा नम्बर ५, ६, ७ र ११ तथा काँग्रेसले वडा नम्बर ८ को वडा अध्यक्षमा जित हासिल गरेको छ ।

पराजित साह मधेस प्रदेशको सामाजिक विकासमन्त्री नवल किशोर साहका छोरा हुन । गत स्थानीय तहको निर्वाचनमा साहले यिनै माझीलाई पराजित गरी नगर प्रमुख बनेका थिए । २०७४ को निर्वाचनमा राजपाबाट नगर प्रमुखमा निर्वाचित हुँदा साहले ५ हजार ७२० मत ल्याएका थिए । 

त्यतिबेला सङ्घीय समाजवादी फोरमबाट उम्मेदवार भई निकटतम प्रतिद्वन्द्वी रहेका माझीले ४ हजार ३६५ मत ल्याएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button