तपाईँ सुन्दै हुनुहुन्छः

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

चितवन । आइतबार भरतपुरको गोन्द्राङमा निर्माणाधीन नालीको खोचमा परेर गैँडा मरेको विषयमा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।  

उनी हालसम्म पक्राउ पर्न सकेका छैनन् । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले खड्कासँग घटनाका बारेमा थप सोधपुछ तथा छलफल गर्न अदालतको आदेश बमोजिम पक्राउ पुर्जी जारी गरेको बताउनुभयो । 

“गैँडा खाल्डोमा फसेर मरेको घटनामा सबैभन्दा पहिला ठेकदार कम्पनीका सञ्चालक नै सोधपुछको घेरामा परे” आचार्यले भन्नुभयो, “दोषी नै को हो भन्ने विषयमा अदालतको बयान पछि आउला ।” यस विषयमा थप अनुसन्धान र छानबिन कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । 

आइतबार निर्माणाधीन नारायणगढ गोन्द्राङ्ग सडकको नालीको खोँचमा परेर गैँडा मरेको थियो । त्यस लगत्तै वन तथा वातावरण मन्त्रालयले समेत वन विभागका उप महानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहनुभएको छ ।

समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । बिहीबार र शुक्रवार समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरूसँग छलफल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button