तपाईँ सुन्दै हुनुहुन्छः

‘कृषि क्षेत्रको विकासका लागि परियोजनाको महत्त्वपूर्ण योगदान’

जनकपुरधाम । स्वदेशी पुँजी, प्रविधि तथा प्राविधिकहरूको सहयोग लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मधेस प्रदेशको कृषि क्षेत्रको विकासका लागि महत्त्वपूर्ण योगदान गरेको एक कार्यक्रममा सहभागीहरूले बताउनुभएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश परियोजना समन्वय इकाईले धनुषाको नक्टाझिझमा आज आयोजना गरेको प्रदेश स्तरीय दोस्रो त्रैमासिक एवं अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागीहरूले परियोजनाले कृषि क्षेत्रमा उन्नत प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

प्रदेशमा माछा पोखरीको निर्माण, सिँचाइ, यान्त्रिकीकरण, प्राविधिक शिक्षा तथा चक्लाबन्दीमा विशेष जोड दिइएको परियोजनाका समन्वय इकाईका कृषि अधिकृत कालीकान्त मिश्रले जानकारी दिनुभयो ।

प्रदेशको सबै जिल्लामा लागु भएको सो कार्यक्रम अन्तर्गत पकेट, ब्लक, जोन तथा सुपर जोन क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षका लागि १ अर्ब २१ करोड रकम विनियोजन गरेको परियोजनाका प्रदेश समन्वय इकाईका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनुभयो ।

परियोजनाको कार्यक्रम तीनै तहको सरकारको सहभागितामा सञ्चालन रहेको छ ।

परियोजना अन्तर्गत भौतिक प्रगति ६६ प्रतिशत तथा वित्तीय प्रगति ३० प्रतिशत भएको कृषि अधिकृत मिश्रले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश नंं २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर उत्पादन बढाई कृषिमा आत्म निर्भर बनाएर मुलुकबाट खाद्यान्न निर्यात गर्नका लागि यस परियोजनाको कामकाज राम्रो भएकाले अझ बढी प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवको अध्यक्षतामा भएको समीक्षा गोष्ठीमा परियोजनाका आठै जिल्लाका कार्यालय प्रमुखहरूले जिल्लाहरूमा गरेको कामकाजका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button