तपाईँ सुन्दै हुनुहुन्छः

१४ केजीको मुला फलाउने पदमबहादुर

दोलखा । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर १ ठेकल घिउका कृषक पदमबहादुर तामाङ (घिसिङ) ले १४ केजीको मुला फलाएर तरकारी खेतीमा नयाँ रेकर्ड बनाएका छन् । उनको यो मेहनतको कदर गर्दै शैलुङ गाउँपालिकाले सात हजार नगद पुरस्कार समेत दिएको छ ।
शैलुङ गाउँपालिका वडा नम्बर १ ताम्चेत दुधपोखरी ठेकल घिउका तामाङले १४ केजीको दुई वटा मुला फलाएपछि व्यवसायीक रुपमा तरकारी खेती गर्न थालेको दुई वर्षको अवधिमा पहिलो पटक सबैतिरबाट प्रशंसा पाएको उल्लेख गर्दै यसले आफूलाई व्यवसायीक तरकारी खेतीमा थप हौसला मिलेको बताए ।

ठेकल घिउका पदमबहादुर तामाङले झण्डै दुई रोपनी जमिनमा मुला, काउली, गाजर, केराउ, आलु, रातो मुला जस्ता तरकारीको खेती गर्दै आएका छन् । तामाङले यो बर्षमात्र झण्डै तीन लाखको आलु लगायतका तरकारी बिक्री गरेका छन् । मुलामात्रै ४० हजार जतिको बेचेको तामाङले बताए । ठेकल घिउको रातो मुला र आलु काठमाडौँ लगायत देशको अन्यत्र पनि विशेष मानिने तामाङको भनाई छ ।

सडकको पहुँच भएपनि सहज पहुँच नभएको र बोलेरो लगायतका साधनमा महँगो भाँडा तिर्नु पर्ने समस्याले उत्पादित तरकारी काठमाडौँ लगायतको बजार क्षेत्रमा पु¥याउन कठिन भएको तामाङको गुनासो छ । यातायातको सहज पहुँच भए यो बर्ष एक लाखसम्मको मुला बेच्न सकिने थियो – तामाङले भने ।

झण्डै दुई हात लामो १४ केजीको दुईवटा मुला फलाउन सकेपछि शैलुङ गाउँपालिकाले आफूलाई सात हजार नगद सहित पुरस्कृत गरेको र यसले आफूलाई कृषि व्यवसायमा थप हौसला मिलेको तामाङले बताए ।

शैलुङ १ ताम्चेत दुधपोखरी ठेकल घिउका अधिकांश कृषकहरू अहिले तरकारी खेतीमा सक्रिय छन् । उनीहरूले समूह नै बनाएर तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीको लागि शैलुङ गाउँपालिका, बागमती प्रदेश सरकार र गैर सरकारी संस्था आरआरएनले सहयोग गर्दै आएको छ । व्यवसायीक तरकारी खेती सुरुगरेपछि ठेकल घिउका बासिन्दाको जीवनस्तरमा समेत सुधार भएको स्थानीयको भनाई छ । एउटा परिवारले आलु तथा अन्य तरकारी खेतीबाट सामान्यत वर्षमा दुई / तीन लाखसम्म कमाई गर्ने उनीहरू बताउँछन् ।

शैलुङ गाउँपालिकाले तरकारी खेती गर्ने किसानलाई पकेट क्षेत्र निर्धारण गरी आलु, मुला, काउली, बन्दा जस्ता तरकारी खेतीको लागि सहयोग गर्नुपर्ने र सडकको सहज पहुँचको व्यवस्था गर्नु पर्ने पदमबहादुर तामाङको भनाई छ ।

शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल गाउँपालिकामा कृषि उत्पादनको लागि विशेष सहयोग कार्यक्रम सञ्चालन हुदै आएको बताउनु हुन्छ । हामीले आलु, रातो मुला, काउली बन्दा जस्ता तरकारी खेतीको लागि गाउँपालिकाको तर्फबाट विशेष सहयोग कार्यक्रम सञ्चालन गर्दै आएका छौ – अध्यक्ष दुलालले भने । मेहनती कृषकलाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीति अनुसार १४ केजीको मुला फलाउने पदमबहादुरलाई नगद सहित पुरस्कृत गरिएको अध्यक्ष दुलालले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button