तपाईँ सुन्दै हुनुहुन्छः

युवालाई सीपमूलक तालिम दिन व्यास नगरपालिका र सिटिइभिटी गण्डकीबीच द्विपक्षीय समझदारी

तनहुँ । तनहुँको व्यास नगरपालिका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशबीच सोमबार द्विपक्षीय समझदारी सम्पन्न भएको छ ।

छोटो अवधिको सीपमूलक तालिम मार्फत युवाहरूको पेशागत तथा व्यावसायिक दक्षता अभिवृद्धि गरी रोजगारी वा स्वरोजगारीमा आबद्ध गराउने सम्बन्धमा नगरपालिका र सिटिइभिटीबीच द्विपक्षीय समझदारी भएको हो ।

उक्त समझदारी पत्रमा व्यास नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र सिटिइभिटीको तर्फबाट निर्देशक प्रमोदभक्त आचार्यले हस्ताक्षर गर्नुभएको छ ।

उक्त समझदारीको अवधि ०८० असार मसान्त सम्म कायम रहनेछ साथै दुवै पक्षको आपसी सहमतिमा आवश्यक परिमार्जन सहित पुनः नवीकरण गर्न सकिनेछ बताइएको छ ।

मागमा आधारित छोटो अवधिको सीपमूलक तालिम प्रदान गरी सीपयुक्त जनशक्ति उत्पादन गर्ने, उद्यमशीलता विकास तथा उद्यम स्थापना र स्तरोन्नतिमा सहकार्य गर्ने, सीप सिकेका युवाहरूलाई व्यावसायिक उद्यम स्थापना र स्तरोन्नतिमा सहयोग गरी विदेश पलायनलाई न्यूनीकरण गर्न, स्वरोजगारको अवसर वृद्धि गर्न, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतासँग जोडेर विदेशमा सिकेको सीप, अनुभव र पुँजीको स्वदेशमा नै सदुपयोग गरी स्वरोजगार बन्न सघाउन तथा युवालाई स्वरोजगार तथा रोजगारीका लागि आवश्यक समन्वय, संयोजन एवं सहजीकरण गर्ने जस्ता विविध उद्देश्यले द्विपक्षीय समझदारी गरिएको आर्चायले जानकारी दिनुभयो ।

श्रम बजारको माग, स्थानीय स्तरको आवश्यकता, युवाहरूको चाहना र क्षमता अनुसारका प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपमूलक तालिम सञ्चालन गरी दक्ष प्राविधिक जनशक्ति तयार पार्ने उद्देश्यले नगरपालिकासँग साझेदारी गरेको सटिइभिटीका निर्देशक आचार्यले बताउनुभयो ।

‘कोभिडका कारण स्वदेशमा रोजगारी गुमाइ बेरोजगार भएका, विदेशबाट फर्किएका र वार्षिक श्रम बजारमा आउने युवाहरूलाई प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरी स्वरोजगार र उद्यमी बनाउन साथसाथै आफ्नै पेशा व्यवसाय सञ्चालन गर्न उत्प्रेरित गराउन सिटिइसिटीले विभिन्न योजना अघि सारेको छ जस अन्तर्गत यो पनि एउटा हो ।’ उहाँले भन्नुभयो ।

विगतका वर्षहरूमा तालिम प्रदायक संस्था र रोजगारदाता संस्थाहरुबीच समन्वय नहुँदा तालिमको प्रभावकारी नदेखिएकाले अब पालिका र परिषद् बीच समन्वय तथा सहकार्य गरी अघि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो । व्यास नगरपालिकाले विभिन्न समयमा युवाहरूलाई सीपमूलक तालिम प्रदान गर्दै आएको भएतापनि यसको प्रभावकारी न्यून हुँदा अपेक्षित नतिजा प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो ।

विगत वर्षहरूदेखि नै सिटिइसिटीसँग कुनै न कुनै रुपमा सहकार्य हुँदै आएको भएता पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्थामा यो द्विपक्षीय समझदारी गरिएको सिग्देलले जानकारी दिनुभयो ।

उक्त सम्झौता अनुसार सिसिइभिटीले सरोकारवाला संस्थाबाट पहिचान भई आएका पेशा तथा व्यवसायहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने ,स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै अभिमुखीकरण, सीप विकास र क्षमता अभिवृद्धि जस्ता विविध तालिम सञ्चालन गर्ने, तालिमको क्रममा पाठ्यक्रममा व्यवस्था भए अनुसार प्रयोगात्मक अभ्यासका लागि स्थानीय स्तरमा रहेका सरकारी, गैह्र सरकारी, सहकारी, उद्योगी, व्यवसायी एवं रोजगारदाता सङ्घ/सङ्गठनसँग समन्वय गर्ने, तालिमको गुणस्तर सुनिश्चितताको लागि नियमित अनुगमन, सुपरिवेक्षण तथा नियमन गर्ने, सहभागीले सिकेका वा कार्य अनुभवबाट प्राप्त गरेको ज्ञान, सीप र दक्षतालाई आवश्यकता अनुसार सीप परीक्षण, स्तरीकरण र प्रमाणीकरण गर्ने , परिषदबाट लामो तथा छोटा अवधिका तालिम लिएका युवाहरूको अभिलेख राख्ने , नगरपालिका र अन्य सरोकारवाला निकायहरूका बीच नियमित समन्वय र सहकार्य गर्ने लगायतका काम गर्नेछ ।

त्यस्तैगरी नगरपालिकाको आवश्यकता, भूगोल र जनसङ्ख्याको आधारमा जनशक्तिको पहिचान गरी तालिममा सहभागी हुने व्यक्तिको छनोट, सिफारिस र व्यवस्थापन गर्ने, स्थानीय तह भित्र सञ्चालन हुने तालिमको अनुगमन, मूल्याङ्कन र समीक्षा गर्ने, तालिममा सिकेका व्यक्तिहरूलाई रोजगारी तथा आय आर्जनमा आबद्ध गर्नका लागि सहजकीरण गर्ने, पालिकाभित्र सञ्चालन हुने विकास निर्माणका काम गर्न तालिम प्राप्त व्यक्तिलाई पहिलो प्राथमिकता दिने, पालिकामा उपलब्ध स्रोत साधन र स्वीकृत कार्यक्रम अनुसार तालिमको प्रकृति र आवश्यकता अनुसार लागत साझेदारीका आधारमा तालिम कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने, युवाहरूलाई व्यवसाय गर्न सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धमा सिटिइभिटी र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच भएको सम्झौता अनुसार सहुलियत ब्याजदरका कर्जा उपलब्ध गराउन आवश्यक सहजिकरण गर्ने, उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नको लागि रोजगार प्रदायक संस्थाहरूसँग समन्वय, सहकार्य लगायतको जिम्मेवारी हुनेछ ।

व्यास नगरपालिकाले पहिलो चरणमा कुक, पञ्चेबाजा, मोबाइल मर्मत, सिलाइ कटाइ लगायतका तालिम सञ्चालन गर्न कार्यपालिकाको बैठकबाट निर्णय समेत गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button