तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना रोकथाम र नियन्त्रणको पूर्व तयारी पुरा: मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तेस्रो लहरको कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश सरकारले आवश्यक सबै पूर्व तयारीहरू पुरा गरिसकेको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री शाहीले प्रदेशका मुख्य तीन वटै नाकामा कोरोना परीक्षण, चेकजाँच, होल्डिङ्ग सेन्टरसँगै कुईने र भेरीगंगामा १५ शैयाको कोरोना अस्पताल समेत निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रदेशका १० वटै जिल्लामा आवश्यक जनशक्ति, पूर्वाधार तथा औषधिजन्य सामाग्रीको पूर्व तयारी भइरहेको बताउनुभयो । उहाँका अनुसार अहिलेदेखि प्रदेशका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा कोरोनाका बिरामीलाई चाहिने आवश्यक सामाग्री तयारी अवस्थामा राख्न निर्देशन भइसकेको छ ।

उहाँका अनुसार अतिरिक्त एम्बुलेन्स, शव वाहन खरिदका लागि १ करोड २८ लाख रुपैयाँ पठाई सकिएको छ । उहाँले प्रदेशमा अक्सिजन अभावलाई दूर गर्न आठ जिल्लामा एक सयदेखि ५ सय एलपीएम क्षमताका अक्सिजन प्लान्ट स्थापना भइसकेको पनि जानकारी दिनुभयो ।

प्रदेश सरकारले मन्त्रीपरिषद् विस्तारका लागि आवश्यक प्रक्रिया शुरु गरिसकेकाले छिट्टै मन्त्रीमण्डलले पूर्णता पाउने उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button