तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महाधिवेशन भव्य, ऐतिहासिक र सफल रहेको एमालेको निष्कर्ष

भक्तपुर । नेकपा एमालेको आज भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले विभिन्न ८ वटा निर्णय गरेको छ । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकले दसौँ महाधिवेशनको समीक्षा गर्दै महाधिवेशन भव्य र ऐतिहासिक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

बैठकमा १० औँ राष्ट्रिय महाधिवेशन भव्य, ऐतिहासिक र सफल रहेको निष्कर्ष निकालिएको छ । महाधिवेशन पश्चात् पार्टी नीतिगत रूपमा थप स्पष्ट र सही ढङ्गले दिशा निर्देशित भएको एमालेले जनाएको छ । चितवनमा सम्पन्न महाधिवेशनको समीक्षाको निष्कर्षमा पार्टी सङ्गठनात्मक रूपमा थप सुदृढ र व्यवस्थित भएको उल्लेख छ ।

बैठकले नेता अमृत बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ । यसैगरी आगामी पुस २३ गते सबै जिल्लाका अधिवेशन र माघ ८ गते सबै प्रदेशका अधिवेशन गर्ने निर्णय गरेको एमालेले जनाएको छ । 

बैठकले नेकपा एमालेले महाधिवेशनबाट संशोधन भएको विधानको सम्पादन र नियमावली संशोधनको लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा केन्द्रीय सदस्यहरु खगराज अधिकारी र रमेश बडाल हुनुहुन्छ ।

कार्यदलले एक हप्ताभित्र आफ्नो काम सिद्ध्याएर प्रतिवेदन बुझाउने गरी समय तोकिएको जानकारी दिनु भयो । बैठक सञ्चालन कार्यविधि पारित गरिएको र आगामी बैठकदेखि त्यो कार्यविधि कार्यान्वयनमा आउने उहाँले जानकारी दिनुभयो ।

बैठकले आगामी पाँच वर्ष नेकपा एमाले पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चालन गर्ने र पाँच वर्ष भित्र बल्खुमा पार्टी कार्यालयको नयाँ भवन निर्माण सम्पन्न गरेर प्रविधि मैत्री भवन बनाएर सर्ने निर्णय गरेको जानकारी दिनुभयो ।  

बैठकले बैठक सञ्चालन सम्बन्धी कार्यविधि र सुझाव सहित पारित गरेको छ । 

केन्द्रीय कमिटीको बैठकले माघ र फागुनमा पार्टी विस्तार र पार्टी प्रवेश कार्यक्रम सञ्चालन गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयो । 

बैठकले फागुनभरिमा सबै जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण भएको उहाँले जानकारी दिनुभयो । 

नेकपा एमालेको जारी बैठक आजलाई सकिएको र भोलिको बैठकमा केन्द्रीय सदस्य मनोनयन,पोलिटव्यूरो र स्थायी कमिटी गठन लगायतका एजेन्डामा छलफल हुने भएको छ ।

बैठकको पहिलो दिन आज १५ मध्य ९ वडा एजेन्डामा मात्रै छलफल भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button