तपाईँ सुन्दै हुनुहुन्छः

अन्तरपालिका फुटबलको उपाधि थाहा नगरलाई

मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको छ । 

शनिबार भएको फाइनल खेलमा हेटौँडा उपमहानगरपालिकालाई सडन डेथमा हराउँदै थाहा नगरले पहिलो संस्करणको उपाधि कब्जा गरेको हो । 

हेटौँडा–४, स्थित हुप्राचौरमा शनिबार भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा थाहा विजयी भएको थियो । सडन डेथमा हेटौँडाका खेलाडीले प्रहार गरेको बल बाहिर गएपछि थाहा नगरपालिकाले २–१ उपाधि चुमेको हो । 

त्यसअघि खेलको २७ औँ मिनेटमा हेटौँडाले अनिश महर्जनको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको अतिरिक्त समयमा विनोद घलानले गोल गर्दै २–० को अग्रता लिएको हेटौँडाले दोस्रो हाफमा सम्हालिएर खेल्न सकेन । 

खेलको ५६ औँ मिनेटमा थाहाका लागि राजन गोलेले गोल गर्दै थाहालाई खेलामा फर्काए । अन्तिम समय (७७ औँ मिनेट) मा हेटौँडाका आकाश कटुवालबाट आत्मघाती गोल भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।

विजेता बनेसँगै थाहा नगरपालिकाले उपाधिसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्‍यो  भने, हेटौँडाले नगद एक लाख रुपैयाँ प्राप्त गर्‍यो । 

प्रतियोगितामा हेटौँडाका फत्तेमान घले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । यस्तै विधागत रुपमा थाहा नगरपालिका राजन गोले उत्कृष्ट फरवार्ड, हेटौँडाका गगन सिलवाल उत्कृष्ट डिफेन्डर, थाहाका विशाल स्याङ्तान उत्कृष्ट मिडफिल्डर, हेटौँडाका सफल तिमल्सिना उत्कृष्ट गोलकिपर र थाहाका नरेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनीहरूले जनही ३ हजार नगर, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए । 

प्रतियोगिताका विजेताहरूलाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौँडा–१४ का वडाध्यक्ष दिपक खड्का, हेटौँडा–१० का वडाध्यक्ष किताबसिंह लामा, खेलकुद विकास समितिका अध्यक्ष सानु लामा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button