तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन प्रचण्डको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष प्रचण्डले सबै तह, तप्कामा आक्रामक ढङ्गले गई जनतालाई विश्वासमा लिन सके माओवादी केन्द्र एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बिचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताउनुभयो । सात प्रदेश र दुई वटा गैर भौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्य दृश्यका माध्यमबाट उद्घाटन गर्दै उहाँले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताउनुभयो । 

पूँजीवादले निम्त्यायो जलवायु सङ्कट
अध्यक्ष प्रचण्डले पूँजीवादका कारण जलवायु परिवर्तन देखिएको र प्राकृतिक रूपमा समस्या देखिएको भन्दै त्यसका विरुद्ध स्थानीय तहबाटै प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो । तापक्रमको वृद्धिका कारण बाढी पहिरो, अति वर्षा, खडेरी, हिउँ पग्लनेजस्ता समस्या देखिएको तथा समुद्रमा पानीको सतह बढ्दै जाँदा महासागर वरिपरिका देशहरू समस्यामा परेको अध्यक्ष दाहालको भनाइ छ । 

तापक्रम बढाउने काम साम्राज्यवादी शक्तिले गरेको भन्दै त्यसका विरुद्ध साझा मोर्चा बनाएर सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ छ । 

प्राकृतिक स्रोत तथा साधनमा वित्तीय एकाधिकार पूँजीवादले गरिरहेको हस्तक्षेपलाई रोक्न पनि हामीले आफ्नै सापेक्षतामा सङ्घर्ष गर्नुपर्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनलगायत विषयमा राष्ट्रिय रूपमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनि मोर्चाबन्दी गरेर अगाडि जानुपर्ने उहाँले बताउनुभयो ।

‘नयाँ विचारसहित आफ्नै खुट्टामा उभिऔँ’
अध्यक्ष दाहालले पार्टीलाई आफ्नै सङ्गठन, आफ्नै विचारसहित आफ्नै खुट्टामा उभिने बनाउनु नै तत्कालको आवश्यकता रहेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले हामी आफैँ दुबिधामा परेका कारण हेपिएको भन्दै अब माओवादीलाई कोही कसैले पनि प्रश्न उठाउन नसक्ने गरी सबल र सक्षम बनाउने दृढता व्यक्त गर्नुभयो ।

‘गुटबन्दी र अराजकता रोकौँ’
“पार्टीभित्र विभिन्न खालका समस्या छन्, गुटबन्दी, अराजकता, पदलोलुपजस्ता प्रवृत्ति रहेको तथा यो सबैको चुरो कारण न कार्यकर्ता हो न नेता हुन् । यो व्यक्तिगत समस्याका रूपमा बुझ्नु हुँदैन । यो वैचारिक स्पष्टताको अभावले भएको हो”, अध्यक्ष दाहालले भन्नुभयो । उहाँले विचारमा स्पष्टता नहुँदा गन्तव्य स्पष्ट नहुने र जताततै अँध्यारो मात्रै देखिने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “सबैतिर अँध्यारो मात्रै देखेपछि कसरी जाँगर आउँछ रु अब नयाँ तरिकाले जानुको विकल्प छैन ।” उहाँले समस्या र विचारको अस्पष्टताबाट बाहिर निस्केर अगाडि बढ्नुपर्ने र आगामी पुसमा आयोजना गरिएको राष्ट्रिय सम्मेलनमा नयाँ दस्ताबेज आउने बताउनुभयो ।

‘क्रान्तिकारी रूपान्तरण र पुनर्गठन अत्यावश्यक छ’
सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई क्रान्तिकारी रूपान्तरण र पुनर्गठन गर्नुपर्ने तत्कालको आवश्यकता भएको स्पष्ट पार्नुभयो । उहाँले पार्टीलाई क्रान्तिकारी रूपान्तरण र पुनर्गठन गरेर मात्रै समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने बताउनुभयो ।

उहाँले विचारमा अझै विकसित गर्ने, गुटवादलाई अन्त्य, गर्ने भ्रष्टीकरणलाई रोक्ने, श्रमजीवी वर्गसँगको सम्बन्धबारे मिहिन तरिकाले समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पार्टीभित्रका समस्या र कमजोरीलाई समाधान गर्दै यथास्थितिवादसँग सम्बन्ध विच्छेद गरेर क्रान्तिकारी रूपान्तरण र पुनर्गठनको पहल गर्नैपर्ने उहाँको भनाइ छ ।

उहाँले देशी–विदेशी शक्ति माओवादीलाई क्रान्तिकारी पार्टी बन्न नदिने षड्यन्त्रमा लागिपरेको भन्दै त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभयो । नेता श्रेष्ठले अध्यक्ष प्रचण्डको नेतृत्वमा पार्टीलाई एकाकार र थप बलियो बनाएर लैजान प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button