तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा आत्महत्या गर्नेको संख्यामा वृद्धि

सल्यान ।सल्यानमा आत्महत्या गर्नेको संख्यामा वृद्धि आएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानको तथ्याङ्क अनुसार विगत तीन वर्षको अवधिमा २ सय ३ जनाले आत्महत्या गरेका छन् ।

अत्याधिक मदिरा सेवन, वैदेशिक रोजगारी, सामाजिक सञ्जालको गलत प्रयोग, पारिवारिक वेमेल, माया प्रेममा असफलता लगायतका कारण जिल्लामा आत्महत्या गर्ने बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता श्याम प्रसाद यादवले जानकारी दिनुभयो ।

जिल्लामा विशेष गरी वैदेशिक रोजगार, युवामा माया प्रेम, देखासिकी, झैँ झगडा र आर्थिक कारणले आत्महत्याको दर बढेको अनुुसन्धानले देखाएको यादवको भनाई छ ।

सल्यानमा आर्थिक वर्ष २०७५÷०७६ मा १५ विष सेवन र ३५ झुन्डिएर गरी ५०, आ.व. २०७६÷०७७ मा विष सेवनबाट १९ र झुन्डिएर ४६ गरी ६५, आ.व. २०७७÷०७८ मा विष सेवनबाट २३ र झुन्डिएर ४८ गरी ७१ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

यस्तै चालु आर्थिक वर्ष २०७८/०७९ मा १७ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा साना बालबालिका देखि लिएर वृद्धवृद्धासम्म रहेका छन् । साना कुरामा चित्त नबुझाएर विवेक गुमाएर गर्ने आत्महत्याको प्रवृति ज्यादा पाइने यादवको भनाई छ ।

उहाँले भन्नुभयो, “आत्महत्याका विभिन्न प्रकृतिमध्ये डोरी लगाएर झुन्डिएर आत्महत्या गर्नेहरुको संख्या उच्च रहेको छ ।” प्रहरीको मात्र एकल प्रयासले आत्महत्याको दर घटाउन नसकिने बताउँदै यादवले सामूहिक प्रयासको आवश्यकतामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button