तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ । 

दिउँसो ३ बजेसम्म सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । 

कांग्रेस सभापतिका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गर्नुभएको छ । उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले मनोनयन दर्ता गराउनुभएको छ । 

यसैगरी, महामन्त्रीमा अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन भने सह महामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी र देवराज चालिसेले उम्मेदवारी मनोनयन गर्नुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  


उहाँका अनुसार केन्द्रीय सदस्यतर्फ अपाङ्ग कोटामा छ, अल्पसङ्ख्यकमा दुई, मुस्लिम कोटामा नौ, थारुमा छ, दलित २३, महिला १३, खसआर्यतर्फ ३५ जना, आदिवासी जनजाति क्लष्टरबाट ४२ जना र खुलातर्फ ३५ जनाको उम्मेदवारी परेको छ । 

यसैगरी प्रदेश १ बाट चार, प्रदेश २ बाट दुई, लुम्बिनी प्रदेशका लागि नौ, गण्डकीका लागि छ, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि तीन, वाग्मतीका लागि चार तथा थारु कोटाबाट दुई जनाले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ । विभिन्न २० स्थानबाट मनोनयन भइरहेको छ । 

कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ भने केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसारका उम्मेदवारको फरक फरक गरी कूल २० स्थानमा मनोनयनको व्यवस्था गरिएको काँग्रेसले जनाएको छ । 

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।

यसैगरी, केन्द्रीय सदस्य खुल्लातर्फ दिलेन्द्रप्रसाद बडूले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button