तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी

 काठमाडौँ । नेपाली काँग्रेसको शुक्रवारदेखि काठमाडौँमा जारी १४औँ महाधिवेशनमा आज नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भइरहेको छ । 

नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि हालसम्म सभापतिमा दुई जना सह महामन्त्रीमा चार जनाको उम्मेदवारी परेको छ भने महामन्त्रीमा अहिलेसम्म कुनै उम्मेदवारी नपरेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । 

नेपाली काँग्रेसको सभापतिका लागि नेताहरू कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज बिहान १० बजे देखि बेलुका ५ बजे सम्मका लागि मनोनयन दर्ताको समय दिएको छ भने उम्मेदवारी विरुद्धको दाबी विरोध तथा जाँचबुझका लागि साँझ ५ बजेदेखि ७ बजे सम्मको समय निर्धारण गरेको छ ।

यस्तै , समितिले आज बेलुका ७ः०० बजे देखि ९ः०० बजे सम्ममा उम्मेदवारी विरुद्ध परेका दाबी विरोधबारे आवश्यक निर्णय गरी बेलुका ९ः०० बजे देखि १२ः०० बजे सम्ममा उम्मेदवारहरूको पहिलो नामावली प्रकाशन गर्ने समितिका संयोजक घिमिरेले बताउनुभयो ।

समितिले निर्धारण गरेको निर्वाचन कार्य तालिका अनुसार मनोनयन फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि भोलि आइतबार बिहान ११ः०० बजे सम्मको समय दिई आइतबार मध्यान्ह १२ः०० बजेपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र पर्सी बिहान ८ः०० बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।    

नेपाली काँग्रेसले महाधिवेशनको उद्घाटन सत्र र बन्द सत्र शुक्रवार नै सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button