तपाईँ सुन्दै हुनुहुन्छः

नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने नेता पौडेलको घोषणा

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आफू पार्टीको जारी १४औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने घोषणा गर्नुभएको छ । 

पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने मात्र थलो नभई यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक रहेको भन्दै उहाँले पार्टीभित्र अहिले देखिएको परिस्थितिमा नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको हो । 

आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले पार्टीका कार्यकर्ता र महाधिवेशन प्रतिनिधिलाई यो दिशामा आफ्नो ध्यान लगाउन तथा सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रहसमेत गर्नुभएको छ । 

नेता पौडेलले भन्नुभयो, “मैले काँग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिए, त्यो काँग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ ।” उहाँले पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले आदर्श र मूल्यका लागि जीवनभर सङ्घर्ष गरेको स्मरण पनि उहाँले विज्ञप्तिमा गर्नुभएको छ ।

१४औँ महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपञ्च भोगेको उल्लेख गर्दै उहाँले प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नु पर्ने अवस्थामा पुगेको स्मरण गराउनुभएको छ । 
उहाँले एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

“लोकतन्त्रको आस्था मनभरि भरिएका कांग्रेसजन र विशेष गरी नयाँ शिक्षित पुस्ताले नेपाली काँग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मूल आदर्शमा स्थापित गर्ने प्रयास अघि बढाउनेछन् भन्ने मेरो अपेक्षा भने मेटिएको छैन,” उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “राष्ट्रिय राजनीतिमा मेरो भूमिका रहिरहनेछ । प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान् साथीहरूले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।” 

प्रतिक्रिया राख्नुहोस्

Back to top button