तपाईँ सुन्दै हुनुहुन्छः

‘तीन तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउनुपर्छ’

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीका सैद्धान्तिक लडाइँ सकिएकाले मुलुकमा ठूलो शक्तिका रूपमा रहेका युवालाई कसरी परिचालन गर्ने भन्ने रणनीति आवश्यक रहेको बताउनुभएको छ ।

कांग्रेस १४औँ महाधिवेशनको उद्घाटन समारोहमा आज उहाँले धर्म निरपेक्षता र सापेक्ष नभई स्वतन्त्र हुने बताउँदै आगामी दिनमा कृषिमा बजेट विनियोजन बढाउँदै मुलुक समृद्धितर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

अर्का महामन्त्री पूर्णबहादुर खड्काले काँग्रेसको नेतृत्वमा जारी भएको संविधानअनुसार पार्टीको विधान बनाई सङ्घीय संरचना अनुसारका पार्टीको तहको निर्वाचन सम्पन्न भई महाधिवेशनसम्म आइपुगेको बताउनुभयो ।

विगतको सरकारले गरेका लोकतान्त्रिक र संविधान विपरीतका क्रियाकलापलाई सुधार गरी संविधानको रक्षा गर्नुपर्ने जिम्मेवारी काँग्रेसको काँधमा आइपुगेको उहाँको भनाइ थियो । उहाँले आगामी छ महिनापछि हुने तीन तहका निर्वाचनमा काँग्रेसलाई बहुमतका साथ विजयी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

कोषाध्यक्ष सितादेवी यादवले बिपीजस्ता महामानव र गणेशमान सिंहजस्ता त्यागीको इतिहास रहेको नेपाली काँग्रेसको १४औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “एकता र उत्साहपूर्वक सम्पन्न गर्ने पार्टी कार्यकर्ताको भावना अनुरूप यस पटक कुनै पदमा उम्मेदवारी नदिने तर पार्टी र जनताका सेवामा म निरन्तर लागि रहने छु ।” नेताहरूको सम्बोधन गर्ने क्रम जारी छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button