तपाईँ सुन्दै हुनुहुन्छः

अछामका न्यायिक समितिमा उजुरीको सङ्ख्या बढ्दै, मेलमिलापमा टुङ्ग्याइँदै

अछाम । अछामका स्थानीय तहका न्यायिक समितिमा उजुरीको सङ्ख्या बढ्न थालेका छन् । धेरैजसो मुद्दा तथा उजुरी मेलमिलापको माध्यमबाट फर्छ्यौट हुने भएकाले आम नागरिकको विश्वास र भरोसा बढेको साँफेबगर नगरपालिकाका न्यायिक समिति संयोजक विमलादेवी बुड्थापा बताउनु हुन्छ ।

चार वर्षमा साँफे नगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म ३३ वटा उजुरी परेको छ । न्यायिक समितिमा आएका उजुरीमध्ये अधिकांश घरेलु हिंसा सम्बन्धित छन् । आर्थिक वर्ष ०७४/०७५ मा ७ वटा, ०७५/०७६ मा ६ वटा उजुरी आएका थिए ।

अघिल्लो आर्थिक वर्षमा ६ वटा उजुरी आएकोमा गत आर्थिक वर्षमा १३ वटा उजुरी न्यायिक समितिमा आएका थिए । ३३ वटा उजुरीमध्ये २७ वटा उजुरी फर्छ्यौट भएका छन् । बाँकी ६ वटा उजुरी फर्छ्यौट गर्न बाँकी रहेका उहाँको भनाइ छ । 

विशेष गरी घर झगडा तथा साँध सिमाना, जग्गा विवादका गुनासा न्यायिक समितिमा आउने गरेको उनले बताए । हालसम्म नगरको न्यायिक समितिमा आलिधुरका १० वटा, घरेलु हिंसाका नौ, सम्बन्ध विच्छेदका एक, गाली बेइज्जतीका दुई, ज्याला मजदुरी नदिएका दुई, कुटपिटका दुई, श्रीमानले खान नदिएको दुई, आर्थिक लेनदेनका चार वटा मुद्दा आएको नगर उपप्रमुख बुड्थापाको भनाइ छ । सम्बन्ध विच्छेदको मुद्दालाई अदालत पठाएको उनले जानकारी दिइन् । कानुनी सहजकर्ताको स्थायी दरबन्दी नभएका कारण काम गर्न असहज भएको उनको गुनासो छ । 

मंगलसैन नगरपालिकाको न्यायिक समितिमा ३९ वटा उजुरी आएको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख सरिता उपाध्यायले जानकारी दिनुभयो । ३९ मध्ये २७ वटा उजुरी फर्छ्यौट  भएको छ भने १३ उजुरी बाँकी रहेको उहाँले बताउनुभयो ।

नगरपालिकामा अर्काको जग्गा भोग चलन सम्बन्धी सात, गाली बेइज्जतीका २१, बाली बिगारेका दुई, लेनदेनका तीन, ध्वनि प्रदूषणसम्बन्धी एक, संरचना निर्माणसम्बन्धी पाँच वटा उजुरी परेको उहाँले जानकारी दिनुभयो ।

पालिकाका पाँच स्थानमा मेलमिलाप केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने पालिकामा ४२ जना मेलमिलापकर्तालाई तालिम दिइएको नगर उपप्रमुख उपाध्यायले जानकारी दिइन् । 

पञ्चदेवल नगरपालिकामा १९ वटा उजुरी परेको न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख अम्बिका चलाउनेले जानकारी दिइन् । उनका अनुसार आव २०७५/७६ मा १० वटा र २०७६/७७ मा पाँच वटा उजुरी आएकामा सबै मेलमिलापको माध्यमबाट फर्छ्यौट भएका छन् । २०७७/७८ मा चार वटा उजुरी परेकोमा तीन वटा मेलमिलापको माध्यमबाट फर्छ्यौट भएको छ । एउटा टुङ्ग्याउन बाँकी छ ।

चौरपाटी गाउँपालिकामा १२ वटा उजुरी परेको गाउँपालिकाकी उपाध्यक्ष माया कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७५/७६ मा चार वटा, २०७६/७७ मा तीन वटा उजुरी आएकामा सबै मेलमिलापको माध्यमबाट फर्छ्यौट भएका छन् । 

गत आव २०७७/७८ मा चार वटा उजुरी परेकोमा तीन वटा फर्छ्योट भएको छ । एउटा फर्छ्योट हुन बाँकी छ । यो आर्थिक वर्षमा एउटा उजुरी परेको र फर्छ्योट हुन बाँकी रहेको न्यायिक समिति संयोजक कुँवरले जानकारी दिइन् । न्यायिक समितिमा आएका सबै उजुरी मेलमिलाप मार्फत निरूपण गरिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button