तपाईँ सुन्दै हुनुहुन्छः

महाधिवेशनले बढ्यो भृकुटीमण्डपको व्यापार

काठमाडौँ । भृकुटीमण्डपमा झन्डै एक दशकदेखि खाजा पसल चलाउँदै आउनुभएकी सीता थापालाई केही दिनयता भ्याइनभ्याइ छ । 

आजदेखि सुरुआत भएको कांग्रेस महाधिवेशनका कारण बिहानैदेखि नै पसल भिडभाड छ । 

सो स्थानमा अन्य समयमा बिहान र साँझ व्यापार हुने भए पनि दिउँसो सुनसान हुने गरेको उहाँले बताउनुभयो । उहाँले दैनिक रु १० देखि १५ हजारसम्मको व्यापार गर्दै आउनुभएकामा अहिले झन्डै रु ६० हजारसम्मको व्यापार भइरहेको छ । 

अरू समयमा लगानीबाट भाडा तिर्न र खान बस्न मात्रै पैसा हुने भए पनि मण्डपमा हुने कार्यक्रमले व्यापार बढेको उहाँले जानकारी दिनुभयो । कोभिडका कारणले यहाँ हुने कार्यक्रम घटेको भए पनि अहिले भइरहँदा उहाँ खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो, “हामीलाई त हप्तैपिच्छे केही न केही भयो भने आम्दानी बढ्छ ।”

महाधिवेशन आइतबारसम्म जारी रहने छ । महाधिवेशनको उद्घाटन सुरु हुनुभन्दा एक साता पहिलेबाट नै महाधिवेशन स्थलमा भने भिडभाड बढ्न थालेको थियो । जिल्ला जिल्लाबाट आएका त कतिपय काठमाडौँमा नै भएका प्रतिनिधि र शुभेच्छुक आपसमा भेटघाटका लागि आइरहेका थिए । हिजो अस्तिभन्दा आज बिहानैदेखि भिडभाड बढेको देखिन्छ । 

सो स्थानमा नै खाजा पसल चलाउँदै आउनुभएका मातृकाप्रसाद राई महाधिवेशनले गर्दा आफ्नो व्यापार झन्डै चार गुणाले बढेको बताउनुभयो । एक साता पहिलेबाट नै यहाँ आवतजावत बढ्न थाले पनि बुधवारबाट बाक्लो भएको उहाँले बताउनुभयो । बिहीबार भिडभाड बढेको थियो । आज त उहाँलाई बिहानैदेखि भ्याइनभ्याइ भएको देख्न सकिन्थ्यो । राजनीतिक आस्थाभन्दा पनि व्यापार बढ्ने हुँदा उहाँलाई महाधिवेशन औधी रमाइलो लागेको छ । उहाँले भन्नुभयो, “यस्तो चुनाव त हाम्रो लागि दसैँ नै हो ।”

महाधिवेशन, आमसभालगायतका कार्यक्रम हुँदा र व्यापार र अरू मेला पर्व हुँदा यहाँको व्यापार बढ्ने गरेको छ । गत साता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन हुँदा चार दिनमा राम्रो व्यापार भएको उहाँले बताउनुभयो । अरू समयमा दैनिक झन्डै रु १० हजारदेखि १५ सम्मको व्यापार गर्ने भए पनि अहिले रु ६५ हजारसम्मको व्यापार भइरहेको उहाँले बताउनुभयो । खानाभन्दा खाजा खान आउनेको सङ्ख्या धेरै छ । उहाँले भन्नुभयो, “सबैभन्दा बढी चिया त्यसपछि चना, अण्डा, चाउमिन खान आउने छन् ।” 

सो स्थानमा नै बसेर व्यापार गर्ने मात्रै होइन महाधिवेशनका कारण डालोमा वा साइकलमा व्यापार गर्ने पनि राम्रो व्यापार गरिरहेको देख्न सकिन्छ ।

केही वर्षदेखि नियमित रुपमा नयाँ बसपार्कमा बदाम बेच्ने गरे पनि महाधिवेशनका कारण महाधिवेशन स्थल नजिक आइपुगेको सुरेश लामाले बताउनुभयो । प्रदर्शनी मार्ग नजिकै भेटिनुभएका उहाँ चुनाव नसकिएसम्म नियमित आउने बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तै कार्यक्रममा हामीले अरू बेलाभन्दा दोब्बर आम्दानी गर्न सक्छौँ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button