तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको शान्ति प्रक्रियाको मोडल उदाहरणीय : प्रधानमन्त्री देउवा

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरूलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

सो सम्मेलनलाई भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले द्वन्द्वको समाधानका लागि नेपालले लिएको शान्ति प्रक्रियाको मोडल सबैका लागि उदाहरणीय भएको बताउनुभएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।उहाँले लोकतन्त्र र लोकतान्त्रिक रूपान्तरणको यात्रामा नेपालको अनुभव सुनाउँदै शान्ति प्रक्रियामार्फत् भएका उपलब्धिहरूको चर्चा गर्नुभयो । नेपालमा शान्ति प्रक्रियाको अभिन्न अङ्गका रूपमा निर्वाचित संविधानसभाले लोकतान्त्रिक र समावेशी संविधानको निर्माण गरेको उहाँले बताउनुभयो ।

सो सम्बोधनमा प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाटै जनताको आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिँदै नेपालले लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकासका विषयलाई प्राथमिकता दिएको बताउनुभयो ।प्रधानमन्त्री देउवाले महिला सशक्तिकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन, समावेशी प्रतिनिधित्व र शान्ति प्रक्रिया पूरा गर्नेलगायतका विषयमा नेपालको प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।

सो सम्बोधनमा प्रधानमन्त्रीले नागरिकको मताधिकार, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, स्वतन्त्र न्यायपालिका, नागरिक स्वतन्त्रताको संरक्षणजस्ता विषयवस्तुहरू नेपालको बहुदलीय प्रजातन्त्रका प्रमुख विशेषता भएको पनि स्पष्ट गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button