तपाईँ सुन्दै हुनुहुन्छः

गरिबी निवारण र मानव अधिकारको क्षेत्रमा नेपालले गरिरहेको काम प्रशंसनीय : विशेष र्‍यापोर्टर ओलिभर डि शटर

काठमाडौँ । चरम गरिबी र मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघका विशेष र्‍यापोर्टर ओलिभर डि शटरले गरिबी निवारण र मानव अधिकारको रक्षामा नेपालले राम्रो काम गरिहरेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको विशेष विज्ञका रुपमा नेपालको अवस्था बुझ्न केही दिनअघि नेपाल आउनुभएका डि शटरले मुलुकका विभिन्न भागको अवलोकन भ्रमण गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नुभएको प्रारम्भिक प्रतिवेदनमा सो कुरा उल्लेख गर्नुभएको हो ।

चरम गरिबी र मानव अधिकार सम्बन्धी राष्ट्र सङ्घीय विशेष विज्ञ डि शटरले रेडियो नेपालका मुख्य सम्पादक जनार्दन विष्टसँग कुराकानी गर्दै अझै पनि नेपालमा आर्थिक तथा सामाजिक बहिष्करणको समस्या पुरै समाधान नभएको भन्दै चरम गरिबीमा रहेकाहरूको उत्थानका लागि आरक्षणको नीतिलाई भने प्रभावकारी रुपमा निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले आवश्यकतामा परेका व्यक्ति, परिवार तथा समुदायका लागि सरकारले ल्याएका सामाजिक सुरक्षाका योजनाहरू राम्रो भए पनि नागरिकताका आधारमा त्यस्ता सुविधाहरू दिइदा नागरिकता नभएका व्यक्तिहरू त्यसबाट वञ्चित हुनुपरेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले नेपाल अति कम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा उक्लिएकोमा खुसी व्यक्त गर्दै मुलुकका आदिवासी, जनजाति, दलित, महिला, बालबालिका सबैको अवस्थामा सुधार ल्याउन सरकारले अझ विशेष जोड दिनुपर्ने बताउनुभयो ।

राष्ट्र संघका विशेष र्‍यापोर्टर ओलिभर डि शटरले आफूले तयार पारेका प्रतिवेदन नेपाल सरकार र आगामी जुनमा हुने संयुक्त राष्ट्र सङ्घको सभामा पेस गर्ने र प्रतिवेदन नेपालका लागि उत्साहप्रद रहेको बताउनुभयो ।

यही मङ्सिर १३ गने नेपाल आइ कर्णाली, लुम्बिनी र प्रदेश नम्बर २ को समेत स्थलगत भ्रमण गर्नुभएका डि शटर आफ्नो जिम्मेवारी पूरा गरी आज राति फर्कँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button