तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्र बैठक : राष्ट्रिय सम्मेलन तयारी लगायतका विषयमा छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।  

आज दिउसो साढे १२ बजेदेखि शुरु स्थायी समिति बैठकमा पुस ११ देखि १३ गतेसम्म तय भएको राष्ट्रिय सम्मेलन तयारी लगायतका विषयमा छलफल भइरहेको छ । 

बैठकमा आसन्न राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि, दस्ताबेज, व्यवस्थापन लगायतका विषयमा छलफल भइरहेको माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । 

माओवादी केन्द्रको यसअघिकै स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनका लागि  समसामयिक प्रस्ताव तयार पार्न नेता गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र गणेश शाहको तीन सदस्यीय समिति गठन गरेको छ । 

यस्तै नेता हितमान शाक्य संयोजक रहेको सम्मेलन व्यवस्थापन समिति र प्रवक्ता कृष्णबहादुर महरा संयोजक रहेको प्रचार–प्रसार उपसमितिसमेत गठन गरिसकेको छ । 

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरी २०७८ मङ्सिर मसान्तभित्र नवीकरण भएका सदस्यता नम्बरसहित प्रतिनिधिहरूको नामावली पठाइसक्न परिपत्र गरेको छ । 

मङ्सिर २५ र २६ गते हुने प्रदेश सम्मेलनका लागि आजसम्म प्रतिनिधिहरूको नामावली प्रदेश निर्वाचन समितिमा पठाउन परिपत्र गरेको माओवादी केन्द्रले यसअघि नै वडा र स्थानीय तहको सम्मेलन सम्पन्न गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button