तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा बत्ती नियमित गर्न काठमाडौँमा र्‍याली

जुम्ला । जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगे पनि दैनिक लोडसेडिङ कायमै रहेको छ । 

राष्ट्रिय लाइन पुगेसँगै घरघरमा बत्ती बल्ने, उद्योग कलकारखाना, इलेक्टोनिक व्यवसायी, होटल व्यवसायीलाई राहत हुने अपेक्षा गरिए पनि लाइन पुगेको ५/६ महिना नहुँदै फेरी लोडसेडिङ हुन थालेको हो । 

केही दिन अघिसम्म फाटफुट रुपमा मोबाइल चार्ज समेत गर्न मुस्किल हुने धिप धिपे बत्ती आए पनि बितेको ४ दिनदेखि जुम्लामा पूर्ण रुपमा लोडसेडिङ भएको छ । 

राष्ट्रिय लाइन पुगे पनि जुम्लाका घरघरमा बत्ती नपुगेको नियमित बत्ती नआएको, पोल गाड्न, मिटर बाँड्न लगायतका काममा ढिलाइ भएको भन्दै जुम्ली जनताले काठमाडौँमा पञ्चेबाजा प्रदर्शन गरिरहेका छन् । 

जुम्लाको बत्ती र सडक सुधार गर्न हिजो सदनदेखि हाल सडकसम्म खबरदारी गरिरहनुभएका सांसद गजेन्द्र बहादुर महतले काठमाडौँमा प्रदर्शनको अगुवाइ गरिरहनुभएको छ । 

काठमाडौँमा नियमित बत्तीकै निम्ति जुम्ली जनता प्रदर्शनमा उत्रिरहँदा यता जुम्लामा भने ४ दिनदेखि बत्ती आएको छैन । 

जुम्लाका नागरिक फेरी लोडसेडिङ भोग्न बाध्य भएका छन् । गाउँ बस्ती त अँध्यारो नै  थिए । केही दिन झिलिमिली भएको सदरमुकाम पनि अन्धकारमा छ । होटल व्यवसायी नोर्बु लामा भन्नुहुन्छ,“राष्ट्रिय लाइन पुगेको ५ महिना बितेको छैन । फेरी लोडसेडिङ हुन थाल्यो । कोरोनाले भर्खर लयमा फर्किएको होटल व्यवसाय अनियमित बत्तीका कारण घाटा जाने त्रासमा छौँ। थोरै पानी पर्‍यो बत्ती नआउने हो भने हिउँद भरी अँध्यारो नै हुनेमा शङ्का छैन ।”

लाइन तान्ने पोल गाड्ने काम गुणस्तरीय रुपमा नभएकै कारण थोरै वर्षा हुँदा पनि बत्ती नआउने गरेको व्यवसायी लामाको गुनासो छ । 

बितेको ४ दिनदेखि जुम्लामा बत्ती नआउँदा सञ्चार गृह, इलेक्टोनिक व्यवसायी, उद्योगी तथा होटल व्यवसायी ठुलो मारमा परेका छन् । 

नियमित बत्तीका लागि काठमाडौँमा आन्दोलनरत सांसद महतले आन्दोलन गरिरहँदा पनि जुम्ला अँध्यारो नै  हुनु प्राधिकरणको लापरबाही भएको बताउनुभयो । 

“लाइन पुराउँदैमा गाउँ बस्ती उज्यालो हुँदैनन् । घरमा मिटर जोडिएका छैनन् । मोबाइल चार्ज गर्न पावर पुग्दैन । प्राधिकरणको ध्यान काठमाडौँ र चितवन केन्द्रित मात्रै छ । कर्णालीका जनता हैनन् । लाइन पुग्नु मात्रै सब थोक हो । कर्णालीको समस्या प्रति प्राधिकरणले कुम्भकर्ण व्यवहार देखाएकोले ब्युँझाउन पञ्चेबाजा प्रदर्शन गर्‍यौ ।”, उहाँले भन्नुभयो । 

विद्युत् प्राधिकरण जुम्लाका प्रमुख नरेशदत्त रावलले केही दिन अघि भएको वर्षाले कोहलपुर–सुर्खेत खण्डको लाइनमा समस्या आउँदा बत्ती नआएको बताउनुभयो । 

उहाँका अनुसार मङ्गलवार मात्रै कोहलपुर–सुर्खेत लाइन सुधार भयो । त्यसपछि दैलेख–कालिकोट खण्डमा पनि समस्या देखिएपछि धौधौले सुधार भए पनि कालिकोटको ताडीदेखि नाग्म खण्ड कनेक्सन नभएकै कारण बत्ती आउन नसकेको उहाँको भनाई छ । 

“बत्ती गएदेखि कर्मचारी परिचालित छन् । ताडी र नाग्म खण्डको बीच समस्या देखिन्छ । तर समस्या पत्ता लागेको छैन । हिजो अस्ति कोहलपुर–सुर्खेत, दैलेख–कालिकोट खण्डमा सुधार नभई हामीले केही गर्न सकेनौ । बुधवार बिहानदेखि ताडी–नाग्म खण्डमा खटिए पनि समस्या पत्ता लागेको छैन ।”, रावलले भन्नुभयो ।

काठमाडौँमा नियमित बत्तीका लागि आन्दोलन गर्नु र जुम्लामा यही बेला बत्ती नआउनु संयोग भएको भन्दै प्राधिकरण सुधारमा खटिएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button