तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमीमा जनकपुरधाममा दर्शनार्थीहरुको घुइँचो (फोटोफिचर )

 

जनकपुरधाम  । प्रत्येक वर्ष मार्ग शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरधाममा धूमधामका साथ मनाइने श्रीसीताराम विवाह पञ्चमीको अवसरमा ठूलो धार्मिक मेला लागेको छ । 

श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको सहभागी हुनका लागि नेपाल तथा भारतबाट आएका दर्शनार्थीहरु आज बिहानदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिरमा पूजा अर्चना गरिरहेका छन् । 

जनकपुरधामको गंगासागर, धनुष सागर, अंगराजसर, दुग्धमति सहितको तलाउ एवं नदीहरूमा बिहानदेखि स्नान गरेर दर्शनाथीहरुले पूजा अर्चना गरिरहेका छन् । 

जनकपुरधामको जानकी मन्दिरमा दर्शनार्थीहरुको आज बिहान ३ः०० बजेदेखि नै भिड रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णले जानकारी दिनुभयो । 

कोरोना महामारीमा केही सुधार भएपछि नेपाल भारतको बन्द रहेको सीमा नाका खुल्ला गरेपछि सीमावती भारतको विहार तथा उत्तर प्रदेशका तीर्थयात्रीहरू उल्लेख्य रुपमा आएका छन् । तर नेपालबाट सहभागिता कम रहेको छ । 

कोरोनाका नयाँ भेरिअन्ट देखा परेपछि आफै नेपालबाट मेलामा सहभागी हुने नेपालीको सङ्ख्यामा व्यापक मात्रामा कमी आएको स्थानीयवासी बत्ताउँछन् । 

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज सबैभन्दा महत्त्वपूर्ण स्वयंम्बर तथा राति शुभ विवाह रहेको छ ।

आज दिउसो केही बेरमा राम मन्दिर तथा जानकी मन्दिरबाट निस्कने झाकी सहितको डोला जनकपुरधामको बार बिघा रंगभूमि मैदानमा पुगेपछि भगवान् तथा माता सिताको प्रतिकात्मक स्वयंम्बर हुने कार्यक्रम रहेको छ । 

स्वयंम्बर हेर्नका लागि भारी सङ्ख्यामा रंगभूमि मैदानमा तीर्थयात्रीहरूको घुइँचो रहने गरेको छ । 

स्वयंम्बरपछि झाकी सहितको डोला र जन्तीले जनकपुरधामको नगरभरि भगवान् राम र माता सीताको जयजयकार गर्दै नगरको परिक्रमा गर्ने गर्दछन् । 

झाकी सहितको जन्तीमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास, प्रदेश सरकारका प्रतिनिधिहरू, स्थानीय प्रशासनका प्रमुख एवं  प्रतिनिधि तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह सहितका व्यक्तिहरू सहभागी हुनुहुनेछ । 

नगर परिक्रमको क्रममा आम जनकपुरवासीले आफ्नो घरको छतबाट पुष्पवृष्टि गर्ने चलन रहेको छ । यस पटक हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button