तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा अखाद्य वस्तुको मिसावट भेटिएपछि बेकरी उद्योगमा ताला

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–१ को डुम्रे बजारमा अनुगमनका क्रममा एउटा बेकरी उद्योगमा सडेगलेको र अखाद्य वस्तुको प्रयोग गर्ने गरिएको भेटिएपछि बेकरी उद्योग र पसल बन्द गरिएको छ ।

अनुगमनलाई निरन्तरता दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा सोमबार गरिएको बजार अनुगमनका क्रममा डुम्रे स्थित रजनिश बेकरी उद्योगले व्यवसाय दर्ता समेत नगरी सडेगलेको र अखाद्य बस्तुको प्रयोग गरी बजारमा बिक्री वितरण गरेको भेटिए पछि प्रशासनले ताला लगाई दिएको छ ।

बेकरी उद्योगको अनुगमन गर्दा उद्योग भित्र सडेगलेको र अखाद्य वस्तुको प्रयोग गर्ने गरिएको र विभिन्न केमिकलको प्रयोग र सरसफाई समेत राम्रोसँग नगर्दा दुर्गन्धित अवस्थामा रहेको भेटिएको थियो । चाडपर्वका बेला मात्र अनुगमन हुने गुनासो गर्ने नागरिकहरूले बल्ल राहतको महसुस गरेका छन् ।

अनुगमन गर्दा सरसफाइको अवस्था दयनीय भेटिएको, उद्योगमा पस्न नाकै थुन्नु पर्ने अवस्था रहेको र केक बनाउने स्थान अत्यन्तै फोहोर भेटिएकाले उद्योगमा तत्काल उत्पादनमा रोक लगाउन ताला नै लगाउनु पर्ने देखिएकाले ताला लगाई जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनुभयो ।

अखाद्य र म्याद गुज्रिएका उपभोग्य बस्तुहरू बिक्री हुने अवस्थालाई मध्यनजर गर्दै बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । बरालको नेतृत्वको टोलीले डुम्रे बजारका मिठाई पसल, खाद्यान्न पसल, माछा मासु पसल, तरकारी पसल र बीउ बिजन र दाना पसलहरूको अनुगमन गरेको थियो ।

पछिल्लो समयमा जन्मदिन मनाउन होस् वा अन्य शुभ कार्यमा केक काट्ने प्रचलन बढ्दै गई रहेको तर केक कत्तिको खान योग्य छ कि छैन भन्ने बारे खासै चासो नदिँदा आम नागरिक विशेष गरी बालबालिकाहरूको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा केक काट्ने प्रचलन तत्कालै हटाउनु पर्ने अनुगमनमा खटिनु भएका कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीले बताउनुभयो ।

बजार अनुगमनको क्रममा कानुनी रूपमा दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, दर्ता नवीकरण नगरिएको, म्याद गुज्रेका उपभोग्य बस्तुहरू बिक्री योग्य बस्तुसँगै राखिएको, लेबल नराखिएको, बीउ बिजन र विषादी पसल एउटै ठाउँमा राखी बिक्री गर्ने गरिएको, अशुद्ध तेलमा खानेकुरा पकाई बिक्री गर्ने गरिएको, माछा मासु खुला रूपमा राख्ने गरिएको, म्याद गुज्रिएको पेय पदार्थ थोक बिक्रेताले पसलमा बिक्री गर्ने गरिएको भेटिएको थियो ।

मिठाई पसलमा पनि सरसफाइको कमी रहेको भेटिएकोले अनुगमनका क्रममा म्याद गुज्रेका सामानहरू जफत गरिएको छ भने दर्ता तथा नवीकरण नगरेका व्यवसायीहरूलाई समयमै दर्ता तथा नवीकरणका लागि आग्रह गरिएको उद्योग अधिकृत नारायण प्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button