तपाईँ सुन्दै हुनुहुन्छः

बैतडी जिप दुर्घटना : मृतकको सङ्ख्या ५ पुग्यो

बैतडी । बैतडीमा सोमबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।  दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि डडेल्धुरा सिफासिर गर्ने तयारी हुँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परेर सुर्नया गाउँपालिका ४ का २४ वर्षीय प्रेम चुनारा र उनकी श्रीमती २० वर्षीय मनिषा विक, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीय रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । 

मनिषा र प्रेम १० दिन अघि मात्रै विवाह बन्धनमा बाँधिएको बुझिन आएको छ । उनीहरू घरबाट माइतीघर पाटन ७ कैलपाल फर्कँदै गर्दा दुर्घटनामा परेको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका ५ जना मध्ये दुई जनालाई डडेलधुरा रेफर गरिएको छ । पाटन नगरपालिका १ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईलाई डडेलधुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।  

जीपमा चालकसहित ११ जना सवार रहेका बताइएको छ । चालक पाटन–५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् । दुर्घटनाग्रस्त जीप सडकबाट १०० मिटर तल खसेको छ । कच्ची, चिप्लो र भिरालो बाटोका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button