तपाईँ सुन्दै हुनुहुन्छः

दश बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै सकियो योजना सम्मेलन

रुपन्देही । १० बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै लुम्बिनी प्रदेश योजना आयोगद्वारा आयोजित योजना सम्मेलन २०७८ सोमबार सम्पन्न भएको छ । 

राष्ट्रिय योजना आयोगसहित सात वटै प्रदेश योजना आयोगका पदाधिकारीहरूको सहभागितामा आइतबारदेखि योजना सम्मेलन सुरु भएको थियो । 

सम्मेलनमा प्रादेशिक योजना तथा बजेट तर्जुमा, सम्भाव्य महत्त्वपूर्ण विषयमा छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले जानकारी दिनुभयो । 

सम्मेलनले राष्ट्रिय योजना आयोग र सात वटै प्रदेश योजना आयोगबिचको समन्वयलाई प्रभावकारी रुपमा स्थापित गर्ने, सहअस्तित्व, समन्वय र सहकार्यको संस्कृतिलाई आत्मसात् गरी प्रदेशहरुबीचको साझा दृष्टिकोण कायम गर्ने आयोगको अपेक्षा छ । 

सम्मेलनले राष्ट्रिय र प्रादेशिक सन्तुलनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने, राष्ट्रिय योजना आयोगले सङ्घ, प्रदेश स्थानीय तहबाट कार्यान्वयन गरिने आयोजना/कार्यक्रम वर्गीकरण सम्बन्धी मापदण्ड तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, प्रदेश तहले सम्भाव्य लगानीका क्षेत्रहरू पहिचान गर्दै परियोजना सम्बन्धी आवश्यक तयारी पूरा गरी लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । 

सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह, राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. रघुराम काफ्ले, प्रदेश नं २ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र लगायतको सहभागिता रहेको थियो । 

सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button