तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा एमबिबिएस पढाई सुरु: राष्ट्रपतिले औपचारिक उद्घाटन गर्नुहुने

जुम्ला।जुम्लामा कुनै बेला उपचारका लागि मात्र नभई मृत्यु भइसकेको शबको पोष्टमार्टमका लागि पनि डाक्टर कुर्नु पर्थ्यो । भने, कयौँले सिटामोल अभावमा मृत्युवरण पनि गरे । न राम्रो अस्पताल, न डाक्टर न उपकरण कर्णालीमा स्वाथ्यको समस्या सधैँ चुनौतीको विषय बनिरह्यो । जसका कारण कर्णालीले रोग,भोक र शोकको उपनाम पायो रह्यो । तर त्यही कर्णालीमा आज विशेषज्ञ डाक्टर उत्पादन गर्ने एमबिबिएस पढाई सुरु भएको छ ।

कर्णाली रोग,भोक र शोकमै सीमित नरहेको भ्रमलाई चिर्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले लामो सङ्घर्ष र प्रयासपछि एमबीबीएस पढाइ सुरु गरेको हो । बहुप्रतिक्षित एमबिबिएस कार्यक्रम सुरु भएसँगै जुम्ली स्वास्थ्य हबका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।

कर्णाली प्रतिष्ठानमा आइतबारदेखि एमबिबिएस पढाई सुरु भए पनि औपचारिक उद्घाटन आगामी मंसिर २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताउनुभयो । उहाँका अनुसार मंसिर २६ गते राष्ट्रपति सँगै स्वास्थ्य मन्त्री र शिक्षा मन्त्री लगायत मेडिकल काउन्सीलको टिम एमबिबिएस उद्घाटनका लागि जुम्ला पुग्ने छन् ।

कर्णालीमा यातायात,विद्युत्,सञ्चार लगायतका पूर्वाधारको मजबुद विकास नभएकै कारण एमबिबिएस सञ्चालनमा ढिलाइ भए पनि कुनै समय डाक्टर खोजी खोजी उपचार गर्न मुस्किल हुने कर्णालीमा अब डाक्टर रोजी रोजी उपचार हुने उपकुलपति रावलको भनाई छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएसमा २० सिट सँगै बीएमएसमा २० सिट, बिपिएचमा २० सिट, बि फार्मेसीमा २० सिटको पढाइ सुरु भएको रजिस्टार नृपेन्द्र महतले बताउनुभयो ।

२०६८ सालमा जुम्लाको खलङ्गामा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय पश्चिम नेपालकै भरोसा केन्द्रका रूपमा स्वास्थ्यमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । गएको २०७३ सालबाट एमबीबीएस अध्ययन अनुमतिको लागि प्रयास गरेको प्रतिष्ठानले गत फागुनमा एमबीबीएसका लागि २० सिटको सम्बन्धन प्राप्त गरेको थियो । भने,करिब १० महिनाको कसरत पछि एबिबिएस सञ्चालन भएको हो ।

एमबिबिएसएस सञ्चालनको लागि प्रतिष्ठानसँग ३०० बेडको आफ्नै अस्पताल,ल्याब, पुस्तकालय, होस्टेल, कर्मचारी प्रशासन,प्रध्यापकहरु, आवास गृह छन् । भने, नयाँ आवास गृह पनि निर्माण हुदैछन् । साथै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल ९ वटा कार्यक्रम सञ्चालन हुँदै आएकोमा अब एमबिबिएसको पढाइ पनि सुरु हुने भएपछि केही वर्षमा प्रतिष्ठानले काँचुली फेर्ने बताउँछन् प्राध्यापक डक्टर दिनेश बास्तोलाले बताउनुभयो ।

अब कर्णालीमा उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्ने छैन । गुणस्तरीय स्वास्थ्य अधिकारको सुनिश्चित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने भएको छ । पूर्वी महोत्तरीका सुनिलकुमार मण्डलले जुम्लामा आएर एमबिबिएस पढ्न पाउँदा असादै खुसी लागेको बताउनुभयो । कर्णाली जस्तो हावा पानी मिलेको ठाउँमा भएकाले पनि एमबिबिएस पढाइका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रोजेको सिन्धुलीकी अपेक्षा पराजुली बताउँछिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button