तपाईँ सुन्दै हुनुहुन्छः

वाग्मतीमा बानियाँलाई प्रधानको समर्थन, पुनः मतदान सुरु हुँदै

मकवानपुर । शनिबार सम्पन्न नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति पदको मतगणनामा इन्द्रबहादुर बानियाँले ९९२ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी, सभापति पदका अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीले ८७७ मत पाउनुभएको छ । अर्का उम्मेदवार भीमसेन दास प्रधानले १९७ मत प्राप्त गर्नुभएको निर्वाचित अधिकृत केशव काफ्लेले जानकारी दिनुभयो । 

मतदानमा दुई हजार ८३ जना मतदाताले भाग लिनुभएको उक्त अधिवेशनमा जम्मा १० मत बदर भएको छ, भने सभापतिमा १२ जनाले कसैलाई पनि मत नदिनुभएको निर्वाचन समितिले जानकारी दिएको छ ।

नेपाली काँग्रेसको विधान बमोजिम विजयी हुनका लागि ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेकाले आज पुनः मतदान हुने भएको छ । 

आज अपराह्न २:३० बजेसम्म मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत काफ्लेले जानकारी दिनुभयो । 

यसैबीच, सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले अर्का उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । केही बेरअघि हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रधानले बानियाँलाई समर्थन गर्ने बताउनुभयो । 

घोषणाअनुरूप आफू र आफ्ना सबै समर्थकले बानियाँलाई मतदान गर्ने प्रधानले विश्वास व्यक्त गर्नुभएको नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जानकारी दिनुभयो । 

प्रदेश अधिवेशनमा दुई हजार १५१ प्रतिनिधि सहभागी हुनुहुन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button