तपाईँ सुन्दै हुनुहुन्छः

उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने भएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय  प्रणाली  (पश्चिमी ट्रफ)  र अरब सागरमा  बनेको  न्यूनचीय क्षेत्र ( कम दबाब प्रणाली) को चापका कारण  बदलीसँगै ती स्थानमा  हिमपातको सम्भावना देखिएको हो । 

यो क्रम आगामी शनिवारसम्म कायम रहने भएको छ । हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली भएको छ । 

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै ती  प्रदेशका उच्च पहाडी र हिमाली भागका धेरै स्थानमा माध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । 

भोलि देशभर सामान्यदेखि पूर्णतया बदली रही कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली भागको केही  स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको औँल्याइएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ । 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button