तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक रूपान्तरणको अभियानमा प्रदेश सरकार सक्रिय: मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार सामाजिक रूपान्तरणको कार्यमा सक्रिय भएको बताउनुभएको छ ।

मुख्यमन्त्री राउतले नेपाली सेना स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरुसंग मुख्यमन्त्री निवासमा आज आयोजना गरेको अन्तरक्रियामा मुख्यमन्त्री राउतले सामाजिक संरचनाकै कारण अधिकांश क्षेत्रमा पछि परेको विषयलाई ध्यानमा राखेर प्रदेशलाई समय सापेक्ष प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले सामाजिक रूपान्तरणलाई उच्च प्राथमिकताका राखेको बताउनुभयो ।

उहाँले सामाजिक रूपान्तरणका लागी प्रदेश २ सरकारले चालेका कदमहरू अन्य प्रदेशको तुलनामा अब्बल रहेको दाबी गर्नुभयो । मुख्यमन्त्री राउतले समाजमा पछि पारिएका महिला, दलित, मुस्लिम लगायतका समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सरकारले शुरु गरेको कार्यक्रम तथा योजनाबारे स–विस्तार जानकारी गराउनुभएको थियो ।  

सामाजिक रूपान्तरणका लागि प्रदेश नंं २ मा बेटी पढाऊ बेटी बचाउ, छोरी शिक्षा बिमा, स्वच्छता अभियान, दलित सशक्तीकरण ऐन, जनसङ्ख्याको अनुपातमा सरकारी निकायहरूमा आरक्षणको व्यवस्था लगायत विषयहरूको बारेमा मुख्यमन्त्रीले जानकारी दिनुभएको थियो ।  

कार्यक्रममा नेपाली सेनाका शिक्षार्थी अधिकृतहरूले राखेको जिज्ञासामा मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button