तपाईँ सुन्दै हुनुहुन्छः

श्रममन्त्री श्रेष्ठ र नेपालका लागि रोमानियाका नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनले  शिष्टाचार भेट गर्नुभएको छ । 

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र रोमानियाबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोबारे छलफल भएको थियो ।

श्रममन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरूले भिषा आवेदनका लागि भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेकोले नेपालबाटै हुने गरी सहजीकरणको लागि समन्वय गर्न आग्रह गर्नुभयो । 

मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको सङ्ख्या बढिरहेको चर्चा गर्नुहुँदै रोमानियामा उपलब्ध रोजगारीप्रति नेपालीको चासो बढेको बताउनुभयो । 

पछिल्लो पाँच वर्षमा मात्र श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको सङ्ख्या ७ हजार ६ सय १८ जना रहेको छ । नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

नेपालको तर्फबाट जर्मनीको बर्लिन र रोमानियाको तर्फबाट भारतको नयाँ दिल्लीमा रहेको दुतावासमार्फत कूटनीतिक सम्बन्ध कार्यान्वयन भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button