नेपाली सेना अनुशासित र व्यावसायिक : मन्त्री रिजाल
काठमाडौँ । रक्षा मन्त्री डा मिनेन्द्र रिजालले नेपाली सेना व्यावसायिक र अनुशासित भएको बताउनुभएको छ । महोत्तरीको बर्दिबासस्थित नेपाली सेनाको मध्यपृतना निरीक्षणका क्रममा मन्त्री डा रिजालले इमानदारीको परिचयले नेपाली सेना संसारभरि चिनिएको उल्लेख गर्नुभयो ।
“राजनीतिक उतारचढावमा पनि नेपाली सेना आफ्नो व्यावसायिकताबाट कहिल्यै धरमराएन”, मन्त्री रिजालले भन्नुभयो, “नेपाली सेनाको परिचयले राष्ट्रको गौरव बढेको छ ।” सरकार सेनालाई अझ समयानुकूल दक्ष बनाउन पछि नपर्ने मन्त्री डा रिजालको भनाइ थियो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनु भएका डा रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा काँग्रेसको काँधमा मुलुकको खास जिम्मेवारी रहेको बताउनुभयो । डा रिजालले यो जिम्मेवारी निर्वाहका लागि कांग्रेस एकजुट हुन र दललाई मुख्य केन्द्रमा राखेर काममा जुट्न कार्यकर्तासँग अपिल गर्नुभयो ।
भेटघाटकै क्रममा कार्यकर्ताले उठाएका जिज्ञासाको जवाफ दिँदै डा रिजालले सैद्धान्तिक रुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठीरहे पनि व्यावहारिक रुपमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्