तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था सेवा कार्यालय चितवनको तीन महिनाको आम्दानी १८ करोड

चितवन । चालु आर्थिक बर्ष ०७८/७९को तीन महिनामा यातायात व्यवस्था कार्यालयले झण्डै १८ करोड आम्दानी गरेको छ । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको श्रावण, भदौ र असोजमा कार्यालयले १७ करोड ९८ लाख ६८ हजार ५९३ रुपैंया आम्दानी गरेको हो । जस अनुसार सबै शीर्षकमा गरी कार्यालयले श्रावण महिनामा ७ करोड ४७ लाख ९५ हजार ९३० आम्दानी गरेको थियो ।

यस्तै भदौ महिनामा कार्यालयले कुल ४ करोड ३६ लाख १५ हजार ३०४ रुपैंया आम्दानी गरेको थियो भने असोज महिनामा कार्यालयले ६ करोड १४ लाख ५७ हजार ३५९ रुपैयाँ आम्दानी गरेको छ । 

कार्यालयले यातायात क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड जरिवाना, सवारी साधन कर र सवारी दस्तुर शीर्षकमा कर सङ्कलन गर्दै आएको छ । जसअनुसार तीन महिनामा यातायात क्षेत्रको आम्दानीबाट १ करोड ५१ लाख ९३ हजार ९२५ रुपैयाँ, प्रशासनिक दण्ड जरिवाना शीर्षकबाट तीन महिनामा १९ लाख ३२ हजार ७९५ रुपैंया, सवारी साधन कर शीर्षकबाट सो अवधिमा १५ करोड ३५ लाख १६ हजार ८६८ रुपैंया र सवारी दस्तुर कर शीर्षकमा तीन महिनामा ९२ लाख २५ हजार ५ रुपैंया आम्दानी गरेको छ । 

आम्दानीमा न्यून वृद्धि 

कार्यालयको चालु आवको भदौ महिनामा भन्दा असोज महिनाको आम्दानीमा न्यून वृद्धि भएको छ । 

तथ्याङ्क अनुसार भदौ महिनामा यातायात क्षेत्रको आम्दानी शीर्षकबाट ४५ लाख ४ हजार ८१० रुपैंया गरेको थियो भने यही शीर्षकमा असोज महिनामा ३६ लाख ६९ हजार २७५ रुपैंया आम्दानी गरेको छ । यस्तै भदौ महिनामा प्रशासनिक दण्ड जरिवाना शीर्षकमा कुनै पनि आम्दानी नगरेको कार्यालयले असोज महिनामा १९ लाख ३२ हजार ७९५ रुपैंया आम्दानी, सवारी साधन कर शीर्षकमा भदौ महिनामा ३ करोड ७० लाख ५हजार २९ रुपैंया आम्दानी गरेकोमा सोही शीर्षकमा असोज महिनामा ५ करोड २२ लाख ७८ हजार ६८९ आम्दानी र भदौ महिनामा सवारी दस्तुर कर शीर्षकबाट २१ लाख ५ हजार ४६५ रुपैंया आम्दानी गरेकोमा असोज महिनामा ३५ लाख ७६हजार छ सय रुपैंया आम्दानी गरेको छ । 

कार्यालयका प्रमुख सुवास उप्रेतीले भदौमा १० दिन निषेधाज्ञाका कारण कार्यालय बन्द भएकोले आम्दानी कम भएको बताउनु भयो  । ‘भदौमा दश दिन कार्यालय बन्द भयो । असार मसान्तमा तिर्न नभ्याएकाले श्रावणमा तिरे । असोजमा चाडपर्व परे पनि  भदौको भन्दा आम्दानीमा केही वृद्धि भयो ।’ उप्रेतीले भन्नुभयो  ।  कार्यालयमा हाल सवारी अनुमति पत्र वितरण र नवीकरण बाहेक सबै काम हुने गर्दछ । यहाँ नयाँ सवारीसाधन दर्ता, नवीकरण, नामसारी, सहमति दर्ता लगायतका कामहरू हुने उप्रेतीले जानकारी दिनुभयो   । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button