तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय बगायो

बाजुरा । बेमौसमी  वर्षासँगै जुड्डीखोलामा आएको बाढीले बुधवार दिउसो जगन्नाथ गाउँपालिकाको कार्यालय बगाएको छ । निरन्तर वर्षाले खोलामा बाढी बढ्नुका साथै जमिन कटान गरेपछि गाउँपालिकाको कार्यालय क्षतविक्षत बनाएको गाउँपालिका सूचना अधिकारी राजेन्द्र जोशीले जानकारी दिनुभयो । 

कार्तिक २ गते दिउसो भएको अविरल वर्षाका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बीचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो । बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका ७ कोठा क्षतविक्षत बनाएको रोजगार संयोजक लक्ष्मण जोशीले बताउनुभयो । बाढीले पाँच शैयाको अस्थायी कोरोना अस्पताल र गाउँपालिकाको सभा हल पनि बगाएको छ ।

कार्यालयमा रहेका फर्निचर, स्रेस्ता, औषधि, उपकरण, कम्प्युटर, डेस्कटप, ल्यापटप, सोलार, ब्याट्री, कार्पेट, लुगा कपडा, गाउँपालिकाको खेल मैदान, जुड्डीखोला लघु जलविद्युत योजनाको तार पोलसमेत महान खोलाले बगाएको छ ।  गाउँपालिका कर्णाली र जुड्डीखोलाको उच्च जोखिममा छ । गाउँपालिकाको कार्यालय क्षतविक्षत बनाएपछि गाउँपालिकामा हुने सबै काम पूर्णरुपमा प्रभावित भएको सूचना अधिकारी जोशीले बताउनुभयो । पहिरोका कारण केही समय कर्णाली नदी पनि थुनिएको थियो । तर बिस्तारै नदी खोलिदा कर्णाली नदीले  क्षति नपुु¥याएको बताइएको छ । 

त्यसै गरी अविरल वर्षाकै कारण सदरमुकाम मार्तडीको त्रिवेणी  साना जलविद्युत केन्द्रको मुहान बाउली खोलाले बगाउँदा तीन दिनदेखि विद्यूत सेवा अबरुद्ध भएको छ । जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीवल र केन्द्रका  कर्मचारीको  सहयोगमा गए राति नहर मर्मत गरी  बिद्युत् सञ्चालन गरिए पनि  पानीको बहाव घटेसँगै खोलो भासिएर करिब दुई मिटर तल र नहर माथि भएपछि पुनः बिद्युत् सेवा अबरुद्ध भएको छ । 

 बिद्युत् सेवा सुचारु गर्न वैकल्पिक उपाय लगाएर पानी नहरमा चढाउने प्रयत्न भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्रका अध्यक्ष अशोककुमार रावलले बताउनुभयो । त्यसै गरी साँफे–मार्तडी सडक खण्डको बल्देको सडक भासिँदा विगत लामो समयदेखि यातायात ठप्प छ । पानीकै कारण  काटेर फालेको धान तथा अन्य बालीसमेत सखाप पारेको छ । बाढीका कारण अहिलेसम्म बाजुरामा मानवीय क्षती भने  केही नभएको अधिकारीहरूले बताएका छन् । बिहीबार बिहानदेखि मौसम सुधार भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button