तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली हात्तीले धान बाली नोक्सान

कञ्चनपुर । जङ्गली हात्तीका बथानले गए राति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसानको धान बालीमा नोक्सानी पुर्‍याएको छ । 

खेतबाट काटेर घरमै कुन्यू बनाएर राखेको धान बाली हात्तीको बथानले खाएर नोक्सानी गरेको हो ।

चुरे क्षेत्रबाट बस्तीमा छिरेको हात्तीका बथानले धान बालीमा नोक्सानी पुर्याउदा किसान मर्कामा परेका छन् । 

छदेखि नौ वटाको सङ्ख्यामा आएको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धान बाली खाएर नोक्सानी पुर्‍याएको छ ।

यसैगरी हात्तीका बथानले वडा नं ११ का हिरा सिंह घटाल, दानबहादुर ऐर, कौशिला जोशीको धान बालीसँगै मनोज बिष्टको केरा बारीमा नोक्सानी पुर्‍याएको छ ।

सिद्धभिम आदर्श आधारभूत विद्यालयको घेराबार भत्काउनुका साथै वडा नं ३ का किसानले लगाएको तरकारी बालीमा समेत हात्तीको बथानले नोक्सानी गरेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

धान खाएपछि हात्तीको बथान नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ लागेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button