तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङको पैयुँपाटामा नगर अस्पताल उद्घाटन

पर्वत । बागलुङ नगरपालिका १३ पैयुँपाटामा नगर अस्पतालको उद्घाटन गरिएको छ । 

साबिकको पैयुँपाटा स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा स्तरबृद्धि गरी आज नगर अस्पतालको रुपमा उद्घाटन गरिएको हो । 

नगरप्रमुख जनकराज पौडेलले नगर अस्पतालको उद्घाटन गर्नुभयो । 

तत्कालका लागि पुराना संरचनामा अस्पताल सञ्चालन भए पनि अबको एक वर्षमा सुविधा सम्पन्न अर्को भवन निर्माण र जनशक्ति थप गरी अस्पताललाई थप स्तरबृद्धि गरिने भएको छ । 

नगर अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा स्थानीयबाट व्यवस्थापन भएको छ । अस्पतालको भवन बनाउन १८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सरकारको घोषित नीतिलाई कार्यान्वयन गर्दै पैयुँपाटामा नगर अस्पताल स्थापना गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । 

नगरप्रमुख पौडेलले बलेवा शहरको रुपमा विकास हुँदै गएको अवस्थामा अस्पताल बनेपछि एउटा खुड्किलो थपिएको बताउनुभयो । 

अस्पतालमा ३ जना मेडिकल अधिकृतसहित २७ जना विभिन्न तहका स्वास्थ्यकर्मीहरू रहने जनाइएको छ । हाल यहाँ सिनियर अहेव, हेल्थ असिस्टेण्ट, अनमी, ल्याब र कार्यालय सहयोगी गरी ८ जना कर्मचारी कार्यरत छन् । 

यो अस्पतालबाट बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटा, वडा नम्बर १४ नारायणस्थान र वडा नम्बर १२ अमलाचौरका २७ हजार जनसङ्ख्या लाभान्वित हुने पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिनुभयो । 

सरकारको सहयोगसँगै देश विदेशमा रहेका गाउँलेहरूले अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्न थालेको पौडेलले जानकारी दिनुभयो । 

नजिकै सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक सदरमुकाम बागलुङ, पर्वतको कुस्मा तथा पोखरा सम्म जानुपर्ने बाध्यता छ । 

नगर अस्पताल बनेसँगै गाउँमा स्वास्थ्य सेवा पाइने अपेक्षा रहेको स्थानीय पदमबहादुर केसीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button