तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगर क्षेत्र भित्र रहेका चिया मजदुरहरूलाई कोभिडविरुद्धको खोप लगाउन शुरु

फाइल तस्बिर

झापा । झापाको मेचीनगर नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न चिया बगानमा कार्यरत मजदुरहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको छ । नगरप्रमुख विमल आचार्यका अनुसार आज नगरपालिकाको ८ नम्बर वडामा रहेको टोकला चिया कमान र ६ तथा ७ नम्बर वडामा रहेको सतिघट्टा चिया बगानमा कार्यरत ७ सय ८६ मजदुरहरूलाई खोप लगाएको छ ।

नगरभित्रका चिया बगानमा कार्यरत मजदुरहरूलाई लक्षित गरेर सञ्चालन गरेको खोप अभियानमा बगान प्रशासनले सम्बन्धित वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिसँग समन्वय गर्नुपर्ने नगरपालिकाले बताएको छ । टोकला चिया कमानमा कार्यरत मजदुरहरुलाई कारखानामै पुगेर स्वास्थ्यकर्मीहरू सुस्मिता रायमाझी, फूलमाया पोखरे र सुस्मा कार्कीले बगानमा कार्यरत ३ सय ६८ जना मजदुरहरूलाई एस्टाजेनिकको पहिलो मात्रा खोप लगाइदिनुभएको थियो । त्यस वडाका जनप्रतिनिधिहरुले सहयोग र समन्वय गर्नुभएको थियो ।

यसै गरी, सतिघट्टा चिया बगानमा कार्यरत ४ सय १९ जना मजदुरहरूलाई स्वास्थ्यकर्मी कृष्णकुमारी बजगाईँ, गोमा कोइराला र सरिता मेचेले भेरोसिलको पहिलो मात्रा लगाइदिनुभएको थियो । उपप्रमुख मिना पोखरेल उप्रेतीले शुक्रवार नगरको १५ नम्बर वडामा रहेका वैभव, कालिकालगायत अन्य चिया बगानमा कार्यरत ६ सय तथा ५ नम्बर वडामा रहेका विभिन्न चिया बगानमा कार्यरत ३ सय तथा विभिन्न सहकारी, डेरी उद्योगमा कार्यरत ६ सय गरेर १ हजार ५ सय जनालाई खोप लगाउने तयारी गरिएको बताउनुभयो ।

नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप सञ्चालनका लागि प्राथमिकताका आधारमा यातायात व्यवसायी, खेलाडी, चिया बगानमा कार्यरत मजदुर, सहकारी, उद्योग तथा कलकारखानामा कार्यरत मजदुर, उद्योगी, व्यवसायी, डेरी, उद्योग, सहकारी, क्यासिनो, होटलमा कार्यरत मजदुर र व्यवसायी, मनि चेञ्जर, कुरियर, होम डेलिभरी कृषि परियोजना, ग्यारेज, पार्लर सैलुन, गुरुकुल, कृषि, पशु फर्म, मदरशा, मठ, मन्दिर र गुम्बामा रहने व्यक्तिलाई राखेको छ । यो वर्गका करिब ६ हजार ६ सय ८० जनालाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिइएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button