तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाबाट दुई विधेयक बहुमतद्वारा स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ लाई बहुमतले स्वीकृत गरेको छ । 

अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त उक्त दुई विधेयकलाई विचार गरियोस् भनी प्रस्तुत गर्नु भएको प्रस्तावलाई सभाको बहुमतले स्वीकृत गरेको हो । 

यस अघि आजै पसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ लाई र टेबुल गर्नुभएको थियो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त दुई विधेयक पारित गरी राष्ट्रिय सभामा पठाएको थियो ।

नयाँ बजेटका आश्रित यी दुई विधेयकलाई पनि राष्ट्रियसभाले पारित गरेपछि सङ्घीय संसद्बाट बजेट पारित हुन्छ ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरी पठाइएको प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।  

आजको बैठक पनि शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का सांसदले उभिएर विरोध जनाउनु भएको थियो ।

त्यस लगत्तै अध्यक्ष तिमिल्सिनाले बोल्नका लागि समय दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खिमलाल भट्टराईले आज पनि आफूहरूको विरोध कायमै रहेकाले बैठकको काम कारबाही अगाडि नबढाउन आग्रह गर्नुभएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक असोज ११ गते सोमवार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button